इटहरीमा विद्युतीय नगरबस सञ्चालन

इटहरी । इटहरी उपमहानगरपालिकाले सर्वसाधारण नागरिकलाई सहज रुपमा सेवा प्रवाह गर्न चार वटा विद्युतीय नगर बस सञ्चालन गरेको छ । बुधबारबाट सञ्चालानमा आएको नगरबसमा यात्रा गर्नेलाई बुधबार र बिहीबार कुनै शुल्क लाग्ने छैन ।

इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले नगरबसबाटै बिभिन्न वडाहरुको अवलोकन गरेर सेवा उद्घाटन गरेका थिए । विद्युतीय बस सेवा वातावरणमैत्री, सुरक्षित, भरपर्दो, र उपभोक्तामुखी हुने उनले बताएका छन् ।

ग्रामिण भेगमा बस्ने जनतालाई शहरसँग जोड्ने उद्देश्यले बस सञ्चालनमा ल्याएको पौडेलले बताएका छन् । तीस वर्षदेखिको इटहरीको सपना आफूले पुरा गरेको उनको भनाइ छ । नगर बसलाई ठाँउ–ठाँउमा सर्वसाधरणहरुले फुल माला लिएर स्वागत गरेका थिए।

इटहरीमा सञ्चालनमा आएको नगर बस नेपालकै अत्याधुनिक र सुबिधासम्पन्न भएको दावी उपमहानगरले जनाएको छ । इटहरी नगर बस खरिद गरेर सञ्चालन गर्ने पहिलो स्थानीय सरकार पनि बनेको छ । अपाङ्गमैत्री बसमा आरामदायी यात्रा गर्न सकिने बताइएको छ ।

नागरिकलाई सहुलियतपूर्ण ढंगमा सेवा उपलब्ध गराउन बसको सेवा शुल्क २० रुपैयाँ मात्र तोकिएको छ । बिहान ७ बजेबाट ११ बजेसम्म र दिउँसो २ बजेदेखि बेलुकी ७ बजेसम्म बस नियमित सञ्चालन हुनेछ ।

नगर बस धरान–विराटनगर सडकमा तरहरादेखि वडा नं. १३ को अरिहन्त मल्टिफाइवर्ससम्म, पूर्व–पश्चिम सडकमा बुढी खोला (मिलन चोक) देखि लगुना चोक बिजुली अफिससम्म, इटहरीबाट साथी फ्यूल, वडा नं. १० टावर हुँदै वडा नं. ११ खेटीपुल, नहरको बाटो हुँदै इटहरी, इटहरीबाट तरहरा, भवानीपुर, कान्छी चोक, पकली हुँदै इटहरीसम्म सञ्चालन हुनेछ । यस्तै, इटहरीबाट तालतलैया, त्रिभुवन चोक, देविस्थान हुँदै पुनः त्रिभुवन चोक, हवाई चोक, आँपगाछी हुँदै इटहरी , इटहरीबाट लविपुर, वडा नं. १६, वडा नं. १५ को चाँदवेला सीमाना हुँदै वडा नं. १७ कार्यालय र कान्छी चोक हुँदै इटहरी बस सेवा निम्न रुटहरूमा सञ्चालन हुने रुट निर्धारण समितिका संयोजक तथा उपमहानगरका प्रबत्ता दिवश पोखरेलले जानकारी दिएका छन् ।

चिनमा उत्पादन भएको बस खरिदमा उप महानगरले भ्रष्टाचार गरेको भन्दै प्रतिनिधिसभा र प्रदेश सभामा समेत कुरा उठेको छ । तर, उपमहानगरले सार्वजनिक खरिद ऐन अनुसार प्रतिस्पर्धाबाट बस खरिद गरेको जनाएको छ ।

उपमहानगरले इलेक्ट्रक बस खरिद गर्नका लागि भ्याटसहित ६ करोड ८८ लाख रुपैयाँको टेन्डर २०८० साल भदौमा खोलेको थियो । तीन वटा कम्पनीले बस खरिदको लागि प्रस्ताव पेश गरेकोमा सबैभन्दा कम रेट पेश गर्ने नेशनल फायर सेफ कम्पनी छनौट भएको थियो । उसले ६ करोड ३६ लाख ८६ हजार ८ सय रुपैयाँमा बस ल्याएको हो ।

बुधबार, ०२ असोज, २०८१, बिहानको ११:०२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर