विराटनगर । विराटनगरमा भीमसेन जात्रा निकालिएको छ । शान्ति र समृद्धिको कामनासहित नेवार समुदायले मंगलबार भीमसेन जात्रा निकालेको हो ।
विराटनगरको संसारीमाईस्थित भीमसेन मन्दिर परिसरबाट निकालिएको जात्राले विराटनगर क्षेत्रका विभिन्न भागको परिक्रमा गरेको थियो । सो क्रममा भीमसेनको मूर्तिलाई खटमा राखेर नगर परिक्रमा गराइएको थियो । नेवार समुदायका मानिससहित अन्य समुदायका व्यक्तिहरुको समेत उल्लेख्य सहभागिता रहेको जात्रामा धिमेबाजा र लाखेनाचसमेत झांकीका रुपमा निकालिएको थियो ।
नेवार समुदायले भीमसेनलाई कुल देउताका रुपमा पूजा गर्दै आएका छन् । यो समुदायको बाहूल्य रहेको देशका विभिन्न शहरहरुमा यो जात्रा निकाल्ने गरिएको छ । शान्ति र समृद्धिको कामना गर्दै निकालिने भीमसेन जात्रा काठमाडौं, दोलखा, भोजपुर, धनकुटालगायतका शहरसहित नेवार समुदायको बसोबास रहेका अन्य क्षेत्रहरुमा समेत निकालिने गरेको छ ।
पछिल्लो समय विराटनगरमा समेत यो जात्रा निकाल्न थालिएको छ । शान्ति र समृद्धिको कामनासहित यो जात्रा निकाल्ने गरिएको श्रद्धालुको भनाइ छ ।