विराटनगर । नेपाल क्षयरोग निवारण संस्था मोरङले कानुनविपरीत मोनिका फार्मेसीमा लगाएको ताला २४ घण्टा भित्र खोल्न औषधि व्यवसायीहरुले चेतावनी दिएका छन् । विराटनगर ७ हस्पिटल चोकमा रहेको फार्मेसीमा क्षयरोग निवारण संघले ताला लगाएको घटनामा नेपाल औषधि व्यवसायी संघले प्रेस विज्ञप्ति जारी गरी ताला खोल्न चेतावनी दिएको हो ।
नेपाल औषधी व्यवसायी संघ (एनसिडिए) मोरङ शाखाले आइतबार एक विज्ञाप्ती जारी गर्दै फार्मेसीमा क्षयरोग निवारण संघले लगाएको ताल्चा तत्काल नखोले सम्पूर्ण औषधि पसलहरु बन्द गरेर आन्दोलनमा उत्रिने चेतवनी दिएको छ ।
संघले यथाशीघ्र तालाबन्दी खोली क्षतिपूर्ति दिन पनि माग गरेको छ । ‘सम्बन्धित निकायले २४ घण्टाभित्र समस्या सामाधन नगरेमा हामी आन्दोलनमा उत्रिन बाध्य हुनेछौं । त्यसबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जवाफदेहिता सम्बन्धित निकाय नै हुने व्यहोरा अवगत गराउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ ।
उच्च अदालत विराटनगरले गरेको फैसलालाई चुनौती दिनेगरी कोशी अस्पतालको स्वामित्वमा रहेको जग्गामाथिको कब्जा कायम राखेको संस्थाले अस्पतालको स्वामित्वमा रहेको व्यवसायिक भवनको सटर भाडा आफूलाई नदिएको भन्दै प्रितम मुखियाले सञ्चालन गरेको ‘मोनिका फार्मेसी’ मा भदौ १९ गते ताल्चा लगाइदिएको थियो । उक्त फार्मेसी बन्द भएको आइतबार चार दिन भइसकेको छ ।
क्षयरोग निवारणले प्रयोग गर्दै आएको ६ कठ्ठा ८ धुर जग्गाको स्वामित्व सम्बन्धी विवाद उच्च अदालत विराटनगरले २०७७ माघ २६ गते टुंगो लगाउँदै कोशी अस्पतालकोे हुने फैसला गरेको थियो । अदालतले जग्गा कोशी अस्पतालकै स्वामित्वमा रहेको फैसला सुनाएपछि अस्पताललाई आफ्नो स्वामित्वमा रहेको जग्गा प्रयोग गर्ने बाटो खुलेको थियो । तर त्यसलाई क्षयरोग निवारण संघले सहज रुपमा स्वीकार गरिरहेको छैन ।
अदालतको फैसलापछि कोशी अस्पतालका मेसु डा.रविराज सिंहले क्षयरोगले भाडा लिइरहेको मोनिका फार्मेसीसहित अरु आठवटा सटरका सञ्चालकलाई भदौ २ गते पत्राचार गरी भाडा अस्पतालमा बुझाउन भनेका थिए । अस्पतालले हेमन्तकुमार श्रेष्ठले सञ्चालन गरेको श्रेष्ठ खाजा घर, फिरदोस अन्सारीले सञ्चालन गरेको मदिना होटेल खाजा घर, घनश्याम अधिकारीले सञ्चालन गरेको पशुपति किराना पसल, स्मृति देवले सञ्चालन गरेको पूर्वाञ्चल बायो मेडिकल सोलुसन, पार्वती ताजपुरियाले सञ्चालन गरेको खुश्बु खाजा घर, रहिम साँफीले सञ्चालन गरेको सहिम मोटर साइकल र घनश्याम अधिकारीले सञ्चालन गरेको न्यू बाबा होटललाई सटर भाडा अस्पतालमा बुझाउन पत्र पठाएको थियो । उक्त पत्र प्राप्त गरेपछि प्रितम मुखियाले सञ्चालन गरेको मोनिका फार्मेसीले भदौ ९ गते कोशी अस्पताललाई साउन महिनाको १२ हजार रुपैयाँ मासिक भाडा बुझाएको थियो । कोशी अस्पताललाई भाडा बुझाएको १० दिनपछि भदौ १९ गते नेपाल क्षयरोग निवारण संस्था मोरङका कर्मचारीले फार्मेशीमा ताल्चा लगाइदिएका हुन् ।