एउटै विद्यालयमा दुई प्रधानाध्यापकले लफडा

दमक । झापाको कमल गाउँपालिका–३ स्थित सहिद धर्मभक्त माध्यमिक विद्यालयमा दुई जना शिक्षकलाई प्रधानाध्यापक नियुक्त गरेपछि विद्यालयको शैक्षिक वातावरण बिथोलिएको छ ।

गाउँपालिकाले गत साउन २९ गते शिक्षक नवराज नेम्वाङलाई विद्यालयको प्रधानाध्यापक पदमा नियुक्त गरेकोमा त्यसको भोलिपल्ट साउन ३० गते विद्यालय व्यवस्थापन समितिले शिक्षक शिवप्रसाद भट्टराईलाई प्रधानाध्यापक नियुक्त गरेको थियो ।

एउटा विद्यालयमा दुईजना प्रधानाध्यापक नियुक्त भएपछि विद्यालयको शैक्षिक वातावरण खल्बलिएको छ । प्रधानाध्यापक को हो भन्ने अन्योल भएकोले आफूहरुको पठनपाठन नै प्रभावित भएको विद्यार्थी सञ्जालका अध्यक्ष लक्ष्मण चौधरीले बताए । विद्यार्थी सञ्जालले पठनपाठन नबिथोल्न आग्रह गर्दै विवाद, छलफल र विरोधका कार्यक्रम विद्यालयभित्र नगरिदिन ध्यानाकर्षण गराएको छ ।

विद्यालयमा गाउँपालिकाले शिक्षक नेम्वाङलाई शिक्षा ऐनमा भएको व्यवस्थाविपरीत नियुक्त गरेको व्यवस्थापन समितिको आरोप छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ खतिवडाले शिक्षा ऐनमा स्थायी शिक्षकमध्येबाट १० वर्ष सेवा अवधि पूरा गरेका ज्येष्ठ शिक्षकलाई प्रधानाध्यापक नियुक्त गर्नुपर्ने व्यवस्था रहेकोमा त्यसविपरित पालिकाको निर्णय आएकोले ऐन अनुसार व्यवस्थापन समितिको बैठकले स्थायी शिक्षकमध्ये १० वर्ष सेवा पूरा गरेका ज्येष्ठ शिक्षकलाई प्रधानाध्यापक नियुक्त गरेको बताए ।

विद्यालयमा दुई जनाले प्रधानाध्यापकको नियुक्त पाएपछि उनीहरुको पक्षमा दिनहुँजसो विद्यालय परिसरमा शक्ति प्रदर्शन भइरहेको छ । गाउँपालिकाले गरेको नियुक्ति कार्यान्वयन हुनुपर्ने भन्दै एउटा समूहले सङ्घर्ष समिति नै गठन गरेको छ । अर्को समूहले विद्यालयमा राजनीति गर्न नहुने भन्दै प्रदर्शन गर्दै आएको छ ।

विद्यालयमा कार्यरत शिक्षकहरुले पनि प्रधानाध्यापक नियुक्तिको विषयलाई पठनपाठन अवरोध भएकोले त्यसलाई बन्द गरिनुपर्ने माग गरेका छन् । विद्यालय व्यवस्थापन समितिले नियुक्त गरेको प्रधानाध्यापक भट्टराईलाई विभिन्न लाञ्छना लगाउने, अप्रमाणित आरोप लगाउने र कक्षा सञ्चालनमा अवरोध गर्ने कार्य भएको भन्दै त्यस्तो कार्य बन्द गर्नका उनीहरुले माग गरेको निमित्त प्रधानाध्यापक प्रभाकर काफ्लेले बताए ।

विरोध र प्रदर्शनको कारण विद्यालयको वातावरण पठनपाठन प्रभावित भएको गुनासो विद्यार्थीहरुले गरेका छन् । उनीहरुले समस्या समाधान गरी पठनपाठनको वातावरण बनाउन व्यवस्थापन समिति, वडा कार्यालय र स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन् ।

दुवै प्रधानाध्यापकका विषयमा विवाद चलिरहेकाले अहिले निमित्त प्रधानाध्यापक प्रभाकर काफ्लेले विद्यालयको नेतृत्व गरिरहेका छन् ।

आइतबार, १६ भदौ, २०८१, दिउँसोको ०३:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर