एमाले कोशीको इञ्चार्जमा शेरधन राईलाई जिम्मेवारी

विराटनगर । नेकपा एमालेले पार्टीको कोशी प्रदेश इञ्चार्जको जिम्मेवारी स्थायी समिति सदस्य शेरधन राईलाई दिएको छ ।

पार्टीको बिहीबार बसेको सचिवालय बेठकले यसअघि तोकिएको जिम्मेवारी हेरफेर गर्दैै कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राईलाई इञ्चार्जको जिम्मेवारी दिएको थियो ।

यसअघि प्रदेशको इञ्चार्जमा केन्द्रीय सचिव रघुबीर महासेठ थिए भने राई सुनसरी जिल्ला इञ्चार्ज थिए । पछिल्लो पटक संसद र सरकारको जिम्मेवारीमा नहरेका नेताहरुलाई पार्टीको जिम्मेवारी दिने नीति अनुसार राईले इञ्चार्जको जिम्मेवारी पाएका हुन् ।

एमालेले मधेश प्रदेशको इञ्चार्जमा लीलानाथ श्रेष्ठ, वाग्मती प्रदेशको इञ्चार्जमा राजन भट्टराई, लुम्बिनी प्रदेशको इञ्चार्जमा पद्मा अर्याल, गण्डकी प्रदेशको इञ्चार्जमा किरण गुरुङ, कर्णाली प्रदेशको इञ्चार्जमा गोरखबहादुर बोगटी र सुदुरपश्चिम प्रदेशको इञ्चार्जमा लेखराज भट्टलाई तोकेको छ ।

बैठकले विराटनगरका पुराना नेता गुरु बराललाई केन्द्रीय उपाध्यक्षमा मनोनीत गरेको छ भने २ जनालाई स्थायी समितिमा र १७ जनालाई केन्द्रीय समितिमा थप गरेको छ ।

उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि खाली रहेको उपाध्यक्षमा बराल मनोनीत भएका हुन् । यस्तै मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरिएको छ ।

उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि एमाले उपाध्यक्ष पद खाली थियो । बराललाई सोही स्थानामा मनोनीत गरिएको हो । उनी यसअघि एमालेको बागमती प्रदेश इञ्चार्जको जिम्मेवारीमा थिए ।

बैठकले मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ । न्यौपाने नेकपा एकीकृत समाजवादी छाडेर एमालेमा प्रवेश गरेका हुन् भने श्रेष्ठ एमालेकै पोलिटब्युरो सदस्य थिए ।

बैठकले १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । जसमा सुवास कर्माचार्य ( सिन्धुपाल्चोक), कुन्दन कुशवाहा, (जितेन्द्र देव (सप्तरी), रामप्रित राम (सिरहा), कृष्णभक्त पोखरेल (चितवन), कमलकृष्ण तिमिल्सिना (अछाम), गोविन्द पुन (सल्यान), केदार सिग्देल (तनहुँ), मनमोहन पौडेल (पर्वत), भरदेव जोशी (दार्चला), हरि उप्रेती (सर्लाही), इन्द्र भण्डारी (झापा), महेश बर्तौला ( मकवानपुर) सरिता भुसाल, प्रभा बराल (कास्की), मञ्जु शर्मा चालिसे (बागलुङ) र आशा जवेगु (पाँचथर) छन् ।

बिहिबार, १७ साउन, २०८१, दिउँसोको ०४:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर