विराटनगरमा ट्राफिक लाइट

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा पहिलो पटक बरगाछी चौकमा राखिएको अबको एक हप्ताभित्रमा सञ्चालनमा आउने भएको छ ।

बरगाछी चौकमा जडान गरिएको ट्राफिक लाइट पूर्ण सञ्चालनमा ल्याउनका लागि त्यसको प्राविधिक पक्षको तयारी थालिएको छ ।

प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयको बजेटमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको समन्वयमा ट्राफिक लाइट जडान गरिएको हो । परीक्षण सफल भएपनि पूर्ण रुपमा सञ्चालनमा आउन अझै एक साता लाग्ने ट्राफिक प्रहरीले जनाएको छ ।

जेब्राक्रस निर्माण र ट्राफिक लाइट सम्बन्धि प्राविधिक तालिम लिएपछि यो पूर्ण सञ्चालनमा आउने जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक सुमन न्यौपानेले जानकारी दिए । ट्राफिक लाइटको सिग्नल कन्ट्रोल कसले गर्ने भन्ने विषय स्पष्ट भइनसकेकोले पनि सञ्चालनमा ढिलाइ भएको हो ।

प्रदेश सरकारकै सहयोगमा यसअघि सुनसरीको इटहरी, झापाको दमक र उदयपुरको गाइघाटमा ट्राफिक लाइट जडान भएर सञ्चालनमा आइसकेको छ । बढ्दो सवारी साधनको चापले गर्दा यातायात व्यवस्थापन जटिल बन्दै गएकोबेला त्यसको व्यवस्थापनको लागि लाइट जडान गरिएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार, विराटनगर महानगरपालिकाभित्र दैनिक करिब ९५ हजार सवारी साधन गुड्ने गरेका छन् । यी सवारी साधनको व्यवस्थापनका लागि दैनिक ४० जना ट्राफिक प्रहरी खटिने गरेका छन् ।

विराटनगरको रोडशेष, महेन्द्र चोक, शनि मन्दिर, बरगाछी, कन्चनबारी, जलजला चोक, हस्पिटल चोक र तीनपैनी चोकमा ट्राफिक लाइटको तत्काल आवश्यकता रहेको अध्ययनले देखाएको छ । विराटनगरको पाँच स्थानमा थप ट्राफिक लाइट जडान गर्न सम्झौता हुने अन्तिम चरणमा रहेको र भदौ १ गतेदेखि ट्राफिक लाइट जडानको कार्य सुरु हुन सक्ने विराटनगर महानगरपालिकाले जनाएको छ । कञ्चनबारी, शनि मन्दिर, रोडशेष, जलजला चौक र तिनपैनीमा ट्राफिक लाइटको लागि उपयुक्त स्थान महानगरले छनोट गरेको छ ।

मुख्य चोकमा ट्राफिक लाइटको अवस्था र संकेत अनुसार सवारी चलाउने र बाटो काट्ने गर्नुपर्छ । रातो बत्ती बल्दा रोकिने, पहेंलो बत्ती बल्दा दायाँबायाँ हेरेर विचार गर्ने र हरियो बत्ती बलेपछि लाइट संकेत देखाएको दिशातर्फ सवारी गुडाउने यो ट्राफिक लाइटको सामान्य तथा सर्वमान्य नियम हो ।

बिहिबार, १७ साउन, २०८१, बिहानको ०८:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर