विराटनगर । कोशी प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईलाई पूर्वमुख्यमन्त्री केदार कार्कीले कुनै धम्की नदिएको उनको सचिवालयले जनाएको छ ।
पूर्वमुख्यमन्त्री केदार कार्कीका स्वकीय सचिव दिवस राजवंशीले एक विज्ञप्ति जारी गर्दै सचिव भट्टराईलाई धम्की दिएको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । राजवंशीले सचिव भट्टराईले कमिसन मागेको आरोप लगाएका छन् ।
‘सचिव भट्टराईले खेलकुद क्षेत्रका लागि रकमान्तर भएर आएको एक करोड ६६ लाख रकमबाट मुख्यमन्त्रीको नाममा समेत सेवाग्राहीबाट कमिशन मागेका थिए । तर कमिशन रकम हात नपरेपछि सचिव भट्टराईले मन्त्रिपरिषद्मा प्रस्ताव लग्न छाडेर काठमाडौं जानुभएको र लामो समय विदामा बसेको अहिले खेलकुद गतिविधिमा संलग्नहरूले गुनासो गरिरहनुभएको अवगत गराउन चाहन्छु,’ स्वकीय सचिव राजवंशीले भनेका छन्, ‘सोही समयमा पूर्वमुख्यमन्त्री कार्की सरकारबाट हट्नु भयो । तर विराटगोल्ड कप, क्रिकेट आयोजक समितिलगायतलाई सचिव भट्टराईले पूर्वमुख्यमन्त्रीज्यूले माग्नु भएको कमिशन रकम नदिनुभएकोले बजेट निकास नभएको भन्दै बदनाम गराउने मनसायले अनर्गल कुप्रचार गराइरहेको सूचना प्राप्त भएपछि पूर्वमुख्यमन्त्री कार्की ज्यूले २०८१ साउन ७ गते सोमबार सचिव भट्टराईलाई फोन गरेर सचेत गराएको स्पष्ट पार्न चाहन्छु ।’
राजवंशीले इमान्दारितापूर्वक कर्तव्यनिष्ठ भएर काम गर्ने सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूलाई हतोत्साहित हुनेगरि सञ्चारमाध्यममा आएको समाचारमा कुनै सत्यता नभएको स्पष्ट पारेका छन् । ‘सम्पूर्ण राष्ट्रसेवक कर्मचारीको हकहितको लागि र निर्भयपूर्वक काम गर्ने वातावरण बनाइराख्न प्रतिबद्ध रहेको सबैमा जानकारीका लागि अनुरोध छ,’ राजवंशीले भनेका छन् । सचिव भट्टराईले भने रकम भुक्तानी गर्न दबाब दिँदै धाक धम्की दिएको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङमा शान्ति सुरक्षाको माग गरेर निवेदन दिएका छन् ।