विराटनगर । असार १५ गते अर्थात राष्ट्रिय धान दिवसको अवसरमा विराटनगर– ५ स्थित एभरेष्ट स्कुलले हरेक वर्ष आफ्ना विद्यार्थीलाई खेतमा लगेर रोपाईमा सहभागि गराउँदै आएको छ । यस वर्ष पनि विराटनगर महानगरपालिका नजिकै रहेको ग्राम थानको झोराहाटमा बाजागाजासहित विद्यार्थीहरुलाई लगेर आफ्नो संस्कृति र परम्परालाई बुझाउने प्रयास गरेको छ ।
रोपाईका बेला गरिने हरेक कृयाकलापमा सहभागि हुँदै विद्यार्थीहरुले हिलो खेलेर मनोरञ्जन समेत गरेका छन् । साहित्यकार तथा कलाकार भरत गुरागाईं को संयोजनमा एभरेष्टका कक्षा १० का सम्पूर्ण विद्यार्थीलाई रोपाईमा सहभागि गराएको विद्यालयका भाइस प्रिन्सिपल नारायण कडरियाले बताउनुभयो ।
यस्तै रोपाई सकेर विद्यार्थीहरुलाई दही चिउरा खाने संस्कृतिमा समेत सहभागि गराइयो । विद्यार्थीहरुलाई शैक्षिक ज्ञानसँगै हाम्रा असल संस्कृति र परम्परालाई पनि बुझाउनुपर्छ भन्दै विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले भन्नुभयो,‘कृषिप्रधान हाम्रो देशका लागि त यस्ता दिवसहरूको महत्व हुन्छ, त्यो महत्व विद्यार्थीलाई बुझाउनुपर्छ ।’