एसईई उत्तीर्ण विद्यार्थीलाई एभरेष्ट स्कूलको सम्मान

विराटनगर । एसईई परिक्षा–२०८० मा उत्तीर्ण आफ्ना विद्यार्थीलाई विराटनगर–५ स्थित एभरेष्ट स्कुलले सम्मान गरेको छ ।

शनिबार कञ्चनजङ्घा बैंक्वेटमा आयोजित एक समारोहमा विद्यालयका प्रिन्सिपल टिकाराम पुरी र विद्यालयका अध्यक्ष विनोद ढकालले माला र सम्मान पत्रले विद्यार्थीलाई सम्मान गरेका हुन् ।

एभरेष्टका २१२ जना विद्यार्थीले एसईई परीक्षामा भाग लिएका थिए । तीमध्ये ४ जीपीए ल्याउने तीन जना विद्यार्थीसहित शतप्रतिशत उत्तिर्ण भएका छन् । यो नतिजा कोशी प्रदेशकै उत्कृष्ट रहेको स्कूलले दावी गरेको छ ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाई मोरङका प्रमुख टंक गौतमले देशभरबाट करिब ४८ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएपनि कोशी प्रदेशबाट ५३ प्रतिशतभन्दा बढी उत्तिर्ण भएको बताए । एभरेष्टले ल्याएको सतप्रतिशतको नतिजा प्रदेशकै उत्कृष्ट रहेको उनले जानकारी दिए ।

विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले विद्यार्थीहरुको सफलता शिक्षण संस्थाको व्यवस्थापन, शैक्षिक योजना, गतिशिल प्रशासन तथा नवीनता र विकाससँग जोडिने बताए । आफूले ३१ वर्षदेखि शिक्षा क्षेत्रमा कृयाशील रहँदै हरेक दिन केहि न केहि सिकिरहेको उनले बताए । यहि स्प्रिटलाई एभरेष्टका शिक्षक– शिक्षिकाले पनि आत्मसाथ गरेर अध्यापन गराउँदा सिकाई प्रभावकारी बन्दै गएको उनको भनाइ छ ।

२०५७ सालदेखि अहिलेसम्म निरन्तर उत्कृष्ट शिक्षण संस्थाको रुपमा एभरेष्टले पहिचान स्थापित गरेको भन्दै पुरीले गुणस्तरीय शिक्षाका लागि अन्यत्र जानुपर्ने अवस्थाको अन्त्य गरिदिएको दावी गरे । ‘विश्वस्तरीय शिक्षा एभरेष्टमै पाइन्छ’ उनले भने, ‘एभरेष्टले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि अन्तर्राष्टिय स्तरकै भौतिक पूर्वाधारको विकास गरेको र नयाँ–नयाँ प्रयोग गर्दै गइरहेको छ ।’

युग सुहाउँदो विश्वसँग प्रतिष्पर्धा गर्ने विद्यार्थी उत्पादन गर्ने उद्देश्य बोकेको एभरेष्ट सधैं हरेक विद्यार्थीको उज्वल भविष्य बनाउन प्रयत्नशील रहेको अध्यक्ष ढकालले बताए । कार्यक्रममा अभिभावकहरुलाई खादा लगाएर सम्मान गरिएको थियो ।

स्कुल अध्यक्ष ढकालको अध्यक्षतामा भएको कार्यक्रमलाई भाइस प्रिन्सिपल नारायण कडरियाले सञ्चालन गरेका थिए भने कलेजका भाइस प्रिन्सिपल टीएन भण्डारीले स्वागत गरेका थिए ।

 

शनिबार, १६ असार, २०८१, साँझको ०६:१८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर


You cannot copy content of this page