विराटनगरको विकास : सुस्तता कि तीव्रता ?

दुई वर्षमा २० किलोमिटर सडक कालोपत्रे, ४२ किलोमिटर नयाँ सडकमा ग्राभेल

विराटनगर । आर्थिक मन्दीले आन्तरिक राजस्व खुम्चिएको अवस्थामा पनि विराटनगर महानगरपालिकाभित्र १ अर्ब १५ करोडभन्दा बढीका विभिन्न योजनाहरु अहिले सञ्चालनमा छन् । यस्तै वडास्तरमा पनि १ करोडभन्दा माथिका थुप्रै योजनाहरु निर्माणको चरणमा रहेको महानगरले जनाएको छ ।

सीमित स्रोत साधनको बाबजुद पनि विराटनगरको विकासलाई समानुपातिक रुपमा अगाडि बढाइरहेको मेयर नागेश कोइरालाले बताए । उनका अनुसार वडा नम्बर १ मा २ करोड ११ लाखको लागतमा बाल उद्यान, १ करोडको लागतमा वडा कार्यालय भवन, वडा नम्बर २ मा ५ करोडको लागतमा सन्ध्याकालीन आरतीस्थल, ४ करोडको लागतमा त्रिभुवनमार्गमा कालोपत्रे निर्माणाधीन चरणमा रहेका छन् ।

वडा नम्बर ५ मा १२ करोडको लागतमा महानगर बहुप्राविधिक शिक्षालयको भवन पनि निर्माण भइरहेको छ । १ करोडको लागतमा डिपीएस दक्षिणमा नाला र सडक पनि बनिरहेको छ । वडा नम्बर ६ मा ५ करोड ३८ लाखको लागतमा विएफएम अगाडिको सडक कालोपत्रे हुन मात्रै बाँकी रहेको मेयर कोइरालाले जानकारी दिए । वडा नम्बर ७ मा १७ करोडको लागतमा प्रधानमन्त्री पार्क, १४ करोड ७५ लाख रुपैयाँको लागतमा महानगरको प्रशासनिक भवन, वडा नम्बर ७ मै २२ करोडको लागतमा निर्माण भएको वीरेन्द्रसभा गृह हस्तान्तरणको चरणमा पुगेको छ । वडा नम्बर ७ स्थित श्मसान घाट जाने सडकको निर्माणले पनि गति लिएको छ । विराटनगर–८ स्थित विश्वकर्मा चोकदेखि रेल्वे हुँदै सिंघीयासम्मको सडक पनि धमाधम निर्माण भइरहेको छ ।

वर्षौंदेखि जीर्ण रहेको विराटनगर बसपार्कदेखि पश्चिम पिचरा जाने सडक करिब १ करोडको लागतमा नालासहित कालोपत्रे हालै सम्पन्न भएको छ । विराटनगर–११ को केशलिया रोडदेखि रानीसम्मको नहरको डिलको सडक निर्माणका लागि ६ करोडमा ठेक्का लागिसकेको छ । विराटनगर–१२ नम्बरस्थित लेखनाथ वाचनालयदेखि पश्चिम १ करोडको लागतमा नाला, विराटनगर–१३ आँखा अस्पताल अगाडिको सडक ३ करोडको लागतमा निर्माण भइरहेको छ भने १४ नम्बर वडास्थित भगवती मार्गको सडक पनि १ करोडको लागतमा धमाधम निर्माण भइरहेको छ ।

महानगरको बहुवर्षीय योजनाअन्तर्गत वडा नम्बर १४ मा ५ करोडको लागतमा रानीपोखरी, ६ करोड बढीको लागतमा मण्ठापोखरी पनि धमाधम निर्माण भइरहेको भौतिक पूर्वाधार महाशाखाका प्रमुख इन्जिनियर अर्जुन थापाले जानकारी दिए । करिब १ करोड लागतमा १५ नम्बर वडाको सुँडी टोलस्थित नाला र सडक निर्माण, १ करोडकै लागतमा १६ नम्बर वडाको आर्जे क्लिनिक पूर्व तथा परागमान श्रेष्ठको घर अगाडिको सडक निर्माणले पनि गति लिएको उनले बताए । १७ नम्बर वडाको मटेरुवा चोकदेखि पूर्वको सडक, १८ नम्बर वडाको फडानी चोकदेखि नहर हुँदै उत्तर निर्माण भइरहेको सडकको लागत पनि १ करोड रहेको छ । विराटनगर–१८ स्थित विराट राजाको दरबार उत्तरमा रहेको पोखरीलाई करिब ८० लाख रुपैयाँको लागतमा आकर्षक बनाइएको छ । सिंढीसहितको पोखरीलाई आकर्षक तरिकाले घेराबारासमेत गरिएको छ ।

त्यस्तै विराट राजाको दरबार क्षेत्रको सरसफाईसँगै पर्खालमा रंग लगाएर चिटिक्क पारिएको छ । वडा नम्बर १९ मा पर्ने पञ्चकन्या मार्गको सडक पनि १ करोडको लागतमा निर्माण भइरहेको छ । यी बाहेक चालू आर्थिक वर्षको बजेटबाट वडास्तरका १ करोडभन्दा मुनि लागतका दर्जनौं योजनाहरु सम्पन्न हुने क्रममा रहेको उनको भनाइ छ । विगत दुई वर्षको अवधिमा २० किलोमिटर कालोपत्रे भएको छ भने ४२ किलोमिटर नयाँ सडकमा ग्राभेल गरिएको छ । विभिन्न वडामा १ सय ५२ वटा कल्भर्ट निर्माण गरिएको छ ।

वडास्तरमा पनि कालोपत्रे, ग्राभेल, रिटेरिङ वाल, विभिन्न सामुदायिक भवनको निर्माण तीव्रता पाएको छ । महानगरको निरन्तरको अनुगमनले गुणस्तरीय सँगै सम्झौताभन्दा अगाडि नै धेरै योजनाहरु सम्पन्न भइरहेको उपमेयर शिल्पा निराला कार्कीले बताइन् । जनप्रतिनिधि, कर्मचारी, निर्माण व्यवसायी र स्थानीयवासीको समन्वयकारी भूमिकाकै कारण महानगरका दर्जनौं योजनाहरु बिना अवरोध अगाडि बढिरहेको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली दाबी गरे । महानगरको नेतृत्वले बिना भेद्भाव सबै वडालाई समानुपातिक रुपमा बजेट विनियोजन गर्नुका साथै बहुवर्षीय ठूला योजना सञ्चालन गरेकोमा वडाध्यक्षहरु पनि खुसी व्यक्त गर्दछन् । महानगरको सरसफाई, आन्तरिक प्रशासनमा विगतमा भन्दा धेरै सुधार गर्नुका साथै भौतिक पूर्वाधारको विकासले पनि गति लिएको बुद्धिजीवि कृष्णप्रसाद भण्डारी मार्सेलीको भनाइ छ । देखिने गरी हरेक वडामा ठूला र साना परियोजना सञ्चालन भइरहेको उनको भनाइ छ ।

बिहिबार, ०७ असार, २०८१, बिहानको ०७:५९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर