विराटनगर ।कोशी प्रदेशमा मनसुन सुरु भएसँगै जनधनको क्षति भइरहेको छ । पूर्वी पहाडी जिल्लाहरु संखुवासभा, तेह्रथुम, ताप्लेजुङ र पाँचथरमा परेको अविरल वर्षाको कारण कैयौंको घर बगाएको छ भने सयौं विस्थापित भएका छन् । तर प्रदेश सरकारले विपद् व्यवस्थापनका लागि गर्नुपर्ने नीतिगत काम नै नगरेको पाइएको छ ।
कोशी प्रदेश सरकारले ‘मनसुन पूर्व तयारी तथा प्रतिकार्य कार्ययोजना’ बनाउनु पर्ने थियो । तर, अहिलेसम्म मुख्यमन्त्री कार्यालयबाट उक्त योजना पारित भएको छैन । कार्ययोजनाको ड्राफ्ट बनाएर विपद व्यवस्थापन कार्यकारी समितिबाट पास गरेको भएपनि मुख्यमन्त्रीको अध्यक्षतामा रहने विपद परिषद समितिबाट पास हुन बाँकी
रहेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । प्रदेश विपद परिषदमा पठाएर पास गरेपछि मात्रै प्रति कार्ययोजना पास हुनेछ ।
प्रदेश विपद परिषदको अध्यक्ष भने मुख्यमन्त्री हुनेछन् । असार ६ गते प्रदेश विपद परिषदमा पठाएर पास गर्ने योजना रहेको आन्तरिक मामिला तथा योजना मन्त्रालयका प्रवक्ता कमलबहादुर थापाले बताए । कार्ययोजनामा सबै मन्त्रालय तथा निकायहरूलाई जिम्मेवारी दिनेगरी बनाइएको प्रदेश विपद कार्यकारी समितिका विज्ञ सदस्य राजकुमार दाहालले बताए । ‘सबै मन्त्रालय तथा मातहतका निकायहरुलाई नै जिम्मेवारी बनाउने गरी प्रति कार्ययोजना बनाएका छौ,’ विज्ञ सदस्य दाहालले भने, ‘यो पास भएपछि स्वास्थ्य समबन्धी स्वास्थ्य मन्त्रालय, खाद्य सम्बन्धी कृषि मन्त्रालयले काम गर्नेगरी योजना बनाएका छौँ । यो पास भएपछि अब स्वतः लागू हुन्छ ।’ अहिले पुरानै कार्ययोजनाले काम गरिरहेको मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपदबाट सबैभन्दा बढी कोशी प्रदेशमा प्रभावित हुने अनुमान गरेको थियो । अघिल्लो वर्ष पनि मनसुन सुरू हुनेबित्तिकै ताप्लेजुङ, संखुवासभा र पाँचथरमा बाढीले क्षति पु¥याएको थियो । यसवर्ष पनि मनसुनको क्षतिबाट यि नै जिल्ला प्रभावित हुन थालेका छन् । यस वर्ष कोशी प्रदेशमा ४ लाख ९५ हजार ३५२ जना प्रभावित हुने अनुमान छ । एक लाख १३ हजार ३५३ घरधुरी प्रभावित हुने अनुमान छ । जसमध्ये २२ हजार घरधुरी प्रत्यक्ष प्रभावित र ५ हजार घरधुरीलाई उद्धार र राहत दिनुपर्ने गृहमन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
मनसुनबाट चालु आर्थिक वर्षमा नै ७ जनाको ज्यान गइसकेको छ । मनसुन सक्रिय रहँदा सुदूरपूर्वका पहाडी जिल्लाहरूमा लगातार वर्षा भइरहेको छ मनसुनको सुरुवातमै पूर्वी पहाडका संखुवासभा र ताप्लेजुङमा बाढीपहिरो सुरू भएको हो ।जल तथा मौसम विज्ञान विभाग धरानका प्रमुख रामबाबु मिश्रले गत २४ घण्टामा पूर्वमा सबैभन्दा बढी झापाको केचनामा २१४ मिलिमिटर पानी परेको जनाएका छन् । उनका अनुसार सुनसरीको धरानमा १४४.३ मिलिमिटर, चन्द्रगढीमा १४३.३ मिमि, चतरामा ६८.८ मिमि, कन्काइमा १५२.५ मिमि, मोरङको लेटाङमा १७३ मिमि, दमकमा १३७ मिमि पानी परेको छ । गत २४ घण्टामा झापा, मोरङ र सुनसरी जिल्ला तथा इलाममा मनसुनको बढी प्रभाव रहेको मिश्रले जानकारी दिए ।
‘मनसुन प्रणालीको प्रभावले गर्दा नै मध्यमदेखि भारी वर्षा भएको छ । ठाउँठाउँमा पहिरो पनि गएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अझै तीन दिनसम्म कोशी प्रदेशमा केही स्थानमा र मधेशमा मेघगर्जनसहित पानी पर्ने सम्भावना छ,’ मिश्रले भने । आम जनताले सतर्कता अपनाउन जरुरी रहेको उनले बताए । पहाडी इलाकामा पानी पर्न अलिक कम भएको उनले बताए । तीन दिन अगाडि संखुवासभाको नुम क्षेत्रमा बढी पानी परेको थियो ।
राहत वितरण फितालो
विपद्मा परेकाहरुलाई राहत वितरणमा पनि ढिलाइ भइरहेको गुनासो आइरहँदा प्रदेश सरकारको भूमिकासमेत असाध्यै फितलो देखिएको छ । कोशीमा विपद् व्यवस्थापन कमजोर देखिएको प्रदेशसभा सदस्य भिम पराजुलीले बताए । अविरल वर्षाले पहाडी जिल्लामा क्षति पु¥याए पनि उद्धार र राहतलगायत व्यवस्थापनमा प्रदेश सरकारको खासै उपस्थिति नदेखिएको उनको आरोप छ । ‘प्रदेश सरकार विपद् व्यवस्थापन राम्रोसँग गर्न सकेको छैन । हामीले सदनमा पनि यस विषयमा आवज उठाएका छौं,’ उनले भने, ‘विपद व्यवस्थापनको पूर्व तयारी सरकारले गरिनुपर्ने थियो । त्यो अहिलेसम्म गरेको छैन ।’
बाढीको कारण खोज्ने, खोला किनारा र जोखिममा रहेका बस्ती सार्नेलगायत नीतिगत व्यवस्था गरी कार्यान्वयनमा ल्याउन प्रदेश सरकारले कहिल्यै चासो नदेखाएको उनले बताए । लगातारको वर्षापछि यतिबेला पहाडी जिल्लामा पहिरो तथा तराईमा बाढी र डुबानको चपेटा परेको छ । त्यही प्राकृतिक विपदमा परेर धेरै सर्वसाधारणले ज्यान गुमाइरहेका छन् । बर्सेनी आइपर्ने यस्ता प्राकृतिक प्रकोपबाट बच्न बेलैमा ध्यान नदिँदा सर्वसाधारणले ज्यान गुमाउने र क्षति भोग्ने क्रम बढिरहेको सांसद पराजुली बताउँछन् ।
कोशीमा एक वर्षमा १७ जनाको मृत्यु
कोशी प्रदेशमा बाढी र पहिरोमा परी चालू आर्थिक वर्षको ११ महिनामा १७ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको साउनदेखि जेठ ३२ गतेसम्म बाढी र पहिरोमा परी ७ जना घाइते, ४ जनाको अवस्था अझै अज्ञात र ७ करोड ६३ लाख ४३ हजार ५ सय रूपैयाँ क्षति भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता सुमन कुमार तिम्सिनाले जानकारी दिए ।
उनका अनुसार झापामा ७ जना, ताप्लजुङमा ५ जना, भोजपुरमा २ जना, इलामका २ जना र खोटाङमा १ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी ताप्लेजुङमा २ जना घाइते, ओखलढुङ्गामा २, इलाम, सुनसरीमा १–१ जना वेपत्ता भएका छन् । संखुवासभामा ४ जना वेपत्ता भएकाहरूको अवस्था अहिले पनि अज्ञात रहेको प्रहरीले जनाएको छ ।
३२ जेठमा पहिरोमा परी ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिममा एकै घरका ४ जनाको मृत्यु भयो । फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष रविन साम्राका बुबा, कान्छी आमा र उनीहरूका दुई सन्तानको मृत्यु भएको हो ।मृत्यु हुनेमा ७० वर्षीय रामबहादुर साम्रा, उनकी ४८ वर्षीय श्रीमती जसमाया लिम्बू छिन् । त्यस्तै उनीहरूका १० वर्षका जुम्ल्याहा छोरीहरू गंगा र जमुनाको पनि पहिरोमा परी मृत्यु भएको छ ।
राति सुतिरहेका बेला माथिबाट खसेको पहिरोमा उनीहरू पहिरोमा पुरिएका हुन् । त्यस्तै खेजेनिम मावि छेउमा गएको अर्को पहिरोमा परी ४० वर्षीय युगेन साम्रा र उनका तीन वर्षीया छोरी घाइते भएको प्रहरीले जनाएको छ ।
आर्थिक वर्ष २०७९÷०८० मा बाढी पहिरोमा परी २३ जनाको मृत्यु भएको थियो भने १२ जना घाइते र ३० जना वेपत्ता भएको प्रदेश प्रहरीको अभिलेखमा देखिन्छ । जसबाट ५ अर्ब २२ करोड ५० लाख ७५ हजारको क्षति भएको प्रहरीको अनुमान छ ।