विराटनगर । संघीय संसद तथा नोबेल मेडिकल कलेजका संचालक सुनिल शर्माका छोरा इशान शर्मा एकपछि अर्को विवादमा पर्दै आएका छन् । कोही बेला मादक पदार्थ सेवन (मापसे) गरेर लफड गर्ने त कहिले मेडिकल कलेजका विद्यार्थी कुटपिट गर्दै अराजक गतिविधिमा लाग्ने गरेका छन् ।
आइतबार साँझ नोबेल मेडिकल कलेजमा एमबीबीएस अध्ययरत विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले संसद शर्माको छोरा इशानसहित तीन जनालाई नियन्त्रणमा लियो । इशानसहित एथेन्स भट्टराई र पप्पु कुमार सराफले फुटबल खेलीरहेका विद्यार्थीहरु माथि झगडा गरेका थिए । इशानसहित दुई जनाले फुटबलको विवादलाई लिएर कुटपिट गर्दा दुईजना एमबीबीएस अध्यररत विद्यार्थी घाइते भएका छन् । त्यसपछि प्रहरीले इशानसहित तीन जनालाई नियन्त्रणमा लिएको थियो । पीडित विद्यार्थीले जाहेरी नदिएपछि पक्राउ परेका शर्मासहित तीन जनालाई प्रहरीले सोमबार छोडेको छ ।
पीडित विद्यार्थीहरुबीच मेलमिलाप गर्ने सहमति भएपछि नियन्त्रणमा रहेका तीन जनालाई छोडिदिएको मोरङ प्रहरीका प्रवक्ता डिएसी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । ‘पीडित पक्षबाट जाहेरी पनि आएन । उहाँहरूको मेलमिलाप भएपछि हामीले नियन्त्रणमा लिएका तीन जनालाई सोमबार छोडिदिएका छौं,’ डिएसपी बस्नेतले भने , ‘घटना सामान्य रहेको भन्दै पीडितहरु आएका थिए । त्यसपछि कारवाहीको प्रक्रिया अगाडि बढेन ।’
नोबेलका विद्यार्थी यसरी बारम्बार कुटिँदै आएका छन् । इशान यसअघि पनि मापसे सेवन गरेर लफडा गर्दा प्रहरीको नियन्त्रणमा परेका थिए । त्यसबेला पनि उनी पहुँचको भरमा कारवाही पर्नबाट जोगिएका थिए ।