लोड हुँदैछ...

मेनु

मुस्लिम समुदायले बकर ईद मनाउँदै

मुस्लिम समुदायले बकर ईद मनाउँदै

विराटनगर । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज मुलुकभर हर्षोल्लासपूर्वक मनाइँदैछ । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औं दिनमा बकर इद मनाउने धार्मिक महत्व अनुसार मुलुकभरका मुस्लिम धर्मालम्बिहरुले बकर ईद (इदुल जोहा) आज मनाउँदैछन् ।

इस्लाम पात्रो ‘हिजारी संवत्’ अनुसार नयाँ वर्षको ‘जुल हिज्जा’ महिनाको १०औं दिनमा यो पर्व मनाइन्छ । यस दिन बिहान सबैरै उठेर नुहाइधुवाइ गरी शुद्ध हुने र खुलास्थान वा मस्जिदमा गई नमाज पढ्नुका साथै अंगालोमा बाँधिएर एक आपसमा शुभकामना आदानप्रदान गरिएको मुस्लिम अगुवा जफर अहमद जमालीले बताए ।
यस दिन देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको आज भिड लाग्ने गरेको छ । यो पर्व मनाउन आज सरकारले सार्वजनिक बिदासमेत दिएको छ । हिजरी संवत् अनुसार हजारौं वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउने गरिएको मुस्लिम अगुवाहरु बताउँछन् । नमाज पढेर घर फर्किएपछि खसी, बाख्रा, राँगा र भैंसीको बली दिने परम्परा छ । बली दिएको पशुको मासु तीन भाग लगाइन्छ । त्यसमध्ये एक भाग आफ्ना लागि, अर्को एक भाग आफ्ना नजिकका मित्रलाई र तेस्रो भाग गरिब तथा असहायलाई दान गरिन्छ ।

मुस्लिम धर्मग्रन्थका अनुसार चार हजार वर्ष पहिले हजरत इब्राहिमले सपनामा आफ्नो परमेश्वरले आफ्नो सबभन्दा प्रिय वस्तु मलाई चढाऊ भनेकोमा आफ्नै छोरालाई आफैंले छुरी रोपेर बली दिएको देखेका थिए । त्यसको भोलिपल्ट विपनामा त्यसैगरी छुरी हान्दा छोरालाई केही नभई आफूसँग रहेको भेडा मरेपछि सोही घटनाको सम्झना स्वरूप यो पर्व मनाउन थालिएको विश्वास गरिन्छ । यो पर्वको मतलब कुर्वानीको उद्देश्य जीवन र मरण सम्पूर्ण नै ईश्वरका लागि हो भन्ने भावना जागृत गराउनु हो ।
आजको दिन मुस्लिम समुदायले आफ्नो परम्परागत पोसाक लगाएर शुभेच्छा र मीठा परिकार एकापसमा साटासाट गर्छन् । नेपाली मुस्लिम समुदायले यो दिनमा आफन्त र साथीभाइलाई बोलाएर मुस्लिम परिकारहरु खुवाउने र एक आपसमा खुसियाली साट्छन् ।

बकर ईद पर्वको अवसरमा राज्यले सार्वजनिक दिएपनि त्रिभुवन विश्वविद्यालयले परीक्षा राखेको भन्दै मुस्लिम अगुवाहरुले असन्तुष्टि व्यक्त गरेका छन् । त्रिभुवन विश्वविद्यालयले ४ वर्षे विविएस पुरानो कोर्षको परीक्षा बकर ईदको दिन १ बजेदेखि ४ बजेसम्म राखेको छ । पर्व मनाउने दिन मुस्लिम विद्यार्थीहरुलाई परीक्षा दिन लगाउने विश्वविद्यालयको परीक्षा तालिकाको विरोध भएको हो ।

‘राज्यको दोहोरो नीति देखेर दुःख लाग्यो, मुस्लिम समुदायलाई राज्यले दोस्रो दर्जाको नागरिक ठाने जस्तो महसूस भएको छ’ मुस्लिम अगुवा साहेव अहमद गुड्डुले भने, ‘ मुस्लिम समुदायहरुको महान् पर्व बकर ईदको सार्वजनिक विदा दिने अर्कोतिर विदाको दिन मुस्लिम विद्याथीहरुको परीक्षा लिने ?’ गणतन्त्र ल्याउन मुस्लिम समुदायले गरेको बलिदान राज्य विर्सेको मुस्लिम युवा नेता अनिश आलमले बताए ।

मुस्लिम आयोगको कामप्रति पनि मुस्लिम अगुवाहरुले आक्रोश व्यक्त गर्दै आयोगका अध्यक्षहरुले पनि फोटो खिचाउने बाहेकको कुनै गर्न नसकेको आरोप लगाएका छन् । नेपाल मुस्लिम ईक्तिहाद संगठन कोशी प्रदेशका अध्यक्ष अजीम आलमले पनि राज्यले मुस्लिम समुदायको पर्व र संस्कारलाई वेवास्ता गर्दे आएको गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।