ताप्लेजुङ । शुक्रबार बेलुकादेखिको लगातारको वर्षा, बाढी र पहिरोका कारण ताप्लेजुङको सिरिजंगा गाउँपालिका–६ मामांखेका २२ परिवार विस्थापित भएका छन् ।
वडाका २४ वटा घर जोखिममा रहेको र पहिरोले पाइप बगाएपछि यहाँका तीन सय बढी घर खानेपानीको समस्यामा परेको गाउँपालिकाले जनाएको छ ।वडा सचिव विशाल कुमार शाहका अनुसार भीममाया गुरुङ र गौरीमाया लिम्बुको घर पहिरोले पूर्णरुपमा पुरेको छ । गुरुङकोमा तीन र लिम्वूकोमा दुई जना बस्दै आएका थिए । पुर्णरुपले विस्थापित हनेमा हर्कमाया लिम्वु, रनबहादुर लिम्वु, पर्सुराम लिम्वु, गंगाकमारी गौतम, भिमकुमार लिम्वु, शेरबहादुर लिम्वु, मनोज राई र कल्पना लिम्वुको परिवार रहेका छन् ।
यस्तैे, मान लिम्वु, जगतबहादुर लिम्वु, बिरबहादुर लिम्वु, इन्द्रबहादुर भट्टराई, यामबहादुर लिम्वु, बुद्धिराज लिब्वु, रविबहादुर लिम्वु, रनकुमार लिम्वु मावो, सरस्वता लिम्बु, नारायण प्रसाद भट्टराई, जानुका भट्टराई र पुर्ण प्रसाद गौतमको परिवार विस्थापित भएका छन् । विस्थापितलाई विद्यालय भवन र छरछिमेककोमा राखिएको वडाध्यक्ष शुक्रराज लिम्बूले जानकारी दिए ।
पहिरोवाट पूर्ण बहादुर लिम्वु, गणेश बहादुर लिम्वु, पदम बहादुर लिम्वु, शेरबहादुर लिम्बु, तेजबहादुर लिम्वु, सिराने राम लिम्वु, रनबहादुर गुरुङ, आइन्द्र राई र मनप्रसाद भट्टराईको घर जोखिममा रहेको वडा कार्यालयले जनाएको छ । यस्तै इन्द्रबहादुर लिम्वु, मनबहादुर लिम्वु, मघनाथ भट्टराई, विदुर मावो, लाखबहादुर लिम्वु, दिलबहादुर लिम्वु, सुर्यकुमार लिम्वु, टेकबहादुर लिम्वु, भिमकुमार लिम्वु, टिकामाया काङवा लिम्वु, इन्द्रबहादुर लिम्वु क र ख, पदमबहादुर लिम्वु, जितबहादुर लिम्वु र बिष्णुकुमारी लिम्वुका घर उच्च जोखिममा रहेका छन् ।
घरको माथीवाट पहिरो झरेको, दायाँ बायाँ पहिरो गएको र घरको मुनीबाट पहिरो जान थालेको अवस्था रहेको वडा कार्यालयले जनाएको छ । गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानले वर्षा नरोकिएकाले उद्धार र राहत वितरणमा पनि समस्या भएको बताए ।
पानी पर्ने क्रम नरोकिएसम्म पालिका क्षेत्रका विद्यालयमा पठनपाठन नगर्न गाउँपालिकाले निर्देशन दिएको छ । पालिकामा अधिक वर्षा भइरहेको र बाढी पहिरोको जोखिम रहेको हुँदा विद्यालय सञ्चालन नगर्न उनले प्रधानाध्यापक र विद्यालय ब्यवस्थापन समितिलाई अनुरोध गरेको अध्यक्ष चौहानले बताए ।
विद्युतको केन्द्रीय प्रशारण लाइन नहुँदा शनिबार बेलुकादेखि पालिका सञ्चार सम्पर्कविहीन भएको छ । विद्युत वितरण केन्द्र ताप्लेजुङका प्रमुख सुरेश चौधरी भने अमरपुरको १३३ केभीए प्रशारण लाइनमा समस्या भएकाले मर्मतको काम भइरहेको बताएका छन् ।
खोलाले गाडी बगायो
यसैबीच फुङलिङ नगरपालिका–९ हाङदेवाको हिरिया खोलाले मे १ज २५७९ नम्वरको बोलेरो गाडी बगाएको छ । फुङलिङ नगरपालिका–११ फुरुम्वुको मित्लुङबाट सदरमुकामतर्फ आउँदै गरेको गाडी बगाएको हो ।
खोलाभित्र पसेपछि गाडीको स्टार्ट बन्द भएकाले र त्यहीबेला आएको लेदोले बगाएर १५ मिटर तल पु¥याएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कमल कुमार लुङगेलीले जानकारी दिए । गाडीमा रहेका चालक राजकुमार पौडेल सकुशल रहेका छन् ।उता सदरमुकाम फुङलिङबाट पाथीभरा जाने मोटरबाटोमा झरको पहिरोले को१झ २९५८ नम्वरको बोलेरो गाडी पुरिएको छ । पुरिएको गाडीलाई जेसीबीको सहयोगमा निकालिएको प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए । चालक कुमार भट्टराई भनें सकुसल रहेका छन् ।
वर्षापछिको पहिरोले पाँचवटा बिजुलीका पोल, काफ्लेपाटीबाट सेवारो चोकसम्म ल्याएको खानेपानीको तीन क्वायल पाइप समेत पूर्णरुपमा क्षति गरेको स्थानीयले बताएका छन् । अवरुद्ध सडक खुलाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा रहेको छ ।