टी–२० विश्वकपको इतिहास रच्ने अवसर एक रनले गुम्यो

विराटनगर । टी–२० विश्वकपमा दक्षिण अफ्रिकासँग एक रनले पराजित हुँदै नेपाली टिम इतिहास रच्नबाट चुकेको छ । जितका लागि ११६ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ११४ रन बनाउन सक्यो ।

नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२ रनको योगदान दिए । उनले ४९ बलमा ४ चौका र १ छक्का प्रहार गरे । यस्तै अनिल साहले २४ बलमा २७ रनको योगदान दिए । उनले यस क्रममा ३ चौका र एक छक्का प्रहार गरेका थिए ।

ओपनर कुशल भुर्तेलले २१ बलमा १३ रन जोडे । उनले एक चौका र एक छक्का प्रहार गरे । खेलमा पराजित भएपनि नेपालले एउटा बलियो टेस्ट राष्ट्र दक्षिण अफ्रिकालाई नेपालले बलियो टक्कर दियो । टक्कर मात्र दिएको होइन, नेपाल सहज जितको बाटोमा उन्मुख थियो ।

एक ओभर अगाडि नै जित हासिल गर्न सक्ने स्थितिमा थियो नेपाल । समर्थकहरु उत्साव मनाउन ठीक्क परिसकेका थिए । तर, १८ औं ओभरमा दिपेन्द्रसिंह ऐरी र ओपनर आसिफ शेखलाई दक्षिण अफ्रिका साम्सीले आउट गरेपछि नेपाली टिम धर्मराएको थियो । त्यसबेला नेपाललाई जितका लागि १२ बलमा १६ रन चाहियो ।

गुलशन झा र कुशल मल्लको जोडी क्रिजमा थियो । तर, एनरिच नार्ट्जेले दोस्रो बलमै कुशललाई बोल्ड गरे । त्यसपछि आएका सोमपालले दुई बल डट खेले । ओभरको चार बलसम्म कुनै पनि रन बन्न नसक्दा नेपाल चरम दवावमा परेको थियो । ८ रनमा नेपाललाई जितका लागि १६ रन ल्याउनुपर्ने भयो ।

पाचौं बलमा सोमपालले साहसिक छक्का प्रहार गरेपछि नेपालको आशा जागेको थियो । अब अन्तिम ओभरमा ८ रन चाहिने सहज समिकरणमा फर्किएको थियो नेपाल ।

दक्षिण अफ्रिकाका ओर्टनिल बार्टम्यान बलिङ गर्न आए । नेपाललाई थुप्रै खेलमा अप्ठेरो स्थितिबाट बचाएका गुल्शनप्रति आशा थियो । तर, उनी चुके । सुरुका दुई बल डट भएपपिछ तेस्रो बलमा उनले शानदार सट हान्दै चौका निकाल्न सफल भए । चौंथो बलमा पनि उनले दुई रन जोड्न सफल भए । अब नेपाललाई नेपाललाई अन्तिम दुई बलमा दुई रन चाहिएको थियो । तर, दुवै बलमा उनी बिट भए ।

अन्तिम बलमा उनीसँग एक रन पूरा गरेर खेललाई सुपरओभरमा धकेल्ने अवसर थियो । तर, उनको रनिङ विटविन दि विकेट कमजोर रह्यो । डाइभ नहान्दा उनले रन पूरा गर्न सकेनन् र नेपाल १ रनले पराजित भयो ।

आजको म्याच यदि जितेको भए त्यो नेपालका लागि अभूतपुर्व सफलता हुनेथियो । यो विश्वकप मात्र नभएर टी २० विश्वकपको इतिहासमै यसलाई एउटा ठूलो उलटफेर मानिने थियो । नेपालले सुपर ८ मा पुग्ने सम्भावना जिवित रहनसक्थ्यो ।

जित ननिकाले पनि दक्षिण अफ्रिकाजस्तो टोलीलाई ११५ रनमा अलआउट गर्नु नेपाली टिमको सफलता हो । नेपालले आज अत्यन्त बुद्धिमत्तापुर्वक साउथ अफ्रिविरुद्ध स्पिन केन्द्रित आक्रमण गरेको थियो ।

विकेटको अवस्था हेरेर कप्तान रोहित पौडेलले १४ ओभर स्पिनरलाई र ६ ओभर मात्र फास्ट बलरलाई दिएका थिए । सबै स्पिनरले डेलिभरि दिए । टस हारेर पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ११५ रन बनाएको थियो ।

टोलीका लागि ओपनर रिजा हेन्डरक्सिले ४९ बलमा सर्वाधिक ४३ रन बनाए । उनले ५ चौका र १ छक्का प्रहार गरे । ट्रिस्टन स्टब्सले १८ बलमा २७ रनको योगदान दिए । उनले २ चौका र १ छक्का प्रहार गरे । कप्तान एडेन मार्क्रमले २२ बलमा १५ रन बनाए । उनले २ चौका प्रहार गरे । क्वीन्टन डी ककले ११ बलमा १० रन जोडे । उनले एक चौका हिर्काए ।

नेपालका लागि कुशल भुर्तेलले ४ विकेट हात पारे । ४ ओभर बलिङ गर्दै उनले १९ रनमात्र दिए । त्यस्तै, दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए । ४ ओभर बलिङ गर्दै उनले मात्र २१ रन खर्चिए । यो खेलमा कम्ब्याक गरेका सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै मात्र १८ रन खर्चिए पनि विकेट भने लिन सकेनन् ।

प्रतियोगितामा दक्षिण अफ्रिकाको लगातार चौथो जित हो । नेपालले भने तेस्रो खेलमा दोस्रो हार बेहोरेको छ । योसँगै नेपालको सुपर ८ मा पुग्ने सम्भावना समाप्त भएको छ । तीन खेलबाट नेपालको एक अंक मात्र छ ।

शनिबार, ०२ असार, २०८१, बिहानको ०९:३४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर