रतुवामाईका वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङको रतुवामाई नगरपालिका–६ का अध्यक्ष तुलाराम लुइँटेलसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सामाजिक सुरक्षा भत्ताको रकम हिनामिना गरेको आरोपमा उनीहरूविरुद्ध शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ । आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार वडा कार्यालयबाट वितरण गरिँदै आएको सामाजिक सुरक्षा भत्ता बापतको रकमको अपचलन भएको उजुरी आयोगमा परेको थियो ।

रतुवामाई ६ बाट वितरण गरिएको सामाजिक सुरक्षा भत्तामा विवरण किर्ते गरी, सामाजिक सुरक्षा भत्ता वापतको रकम अपचलन गरी भ्रष्टाचार गरेको उनीहरुमाथि अभियोग छ । जेष्ठ नागरिक भत्ता प्रदान गर्दा वडाध्यक्षसमेतको मिलेमतोमा सामाजिक योग्य नरहेको व्यक्तिलाई लाभग्राहीको सूचिमा प्रविष्ट गरी सामाजिक सुरक्षा भत्ता कार्ड जारी गरेको एवं नागरिकतामा भएको साविकको जन्ममितिमा फेरबदल गरी सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न उमेर नै नपुगेका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएको अख्तियारले जनाएको छ ।

यस्तै नागरिकताको प्रथम प्रतिलिपिको लागि वडा कार्यालयबाट गरिने सिफारिसको व्यहोरामा जन्ममितिको उमेर बढाएर बदनियतपूर्ण ढंगले गलत लिखत तयार गरी सिफारिस गरेको साथै ईलाका प्रशासन कार्यालय रंगेली मोरङले नागरिकताको प्रथम प्रतिलिपि जारी गर्नको निमित्त पेश भएको अनुसूचीको विवरण एकिन नगरी जन्ममिति फरक पारी प्रतिलिपि नागरिकता जारी गरेको अख्तियारको अभियोग छ । सो प्रकरणमा वडाध्यक्ष, नगरपालिकाका कर्मचारी र प्रशासनका कर्मचारी विरुद्ध अभियोग दायर भएको हो ।

आयोगले वडाध्यक्ष लुइँटेलविरुद्ध १ लाख ६० हजार, रतुवामाईका तत्कालीन वडा सचिव कल्पना बास्कोटाविरुद्ध १ लाख ४४ हजार रुपैयाँ बिगो कायम गरेको छ । यस्तै, रतुवामाई नगरपालिका–६ का मेगदीप पोखरेल र तारादेवी पोखरेलविरुद्ध १ लाख ४४ हजार तथा रतुवामाई– ६ की भक्तकुमारी लुइँटेलविरुद्ध १६ हजार रुपैयाँ बिगो कायम गरिएको आयोगले जनाएको छ ।

यस्तै इलाका प्रशासन कार्यालय रंगेली, मोरङका तत्कालीन प्रशासकीय अधिकृत सुनिल पौडेल र तत्कालीन नायब सुब्बा (नासु) रमेश कोइरालाविरुद्ध गलत लिखतसम्बन्धी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुरमा सोही ऐनको दफा ९ बमोजिम कैद र जरिवानाको सजायको मागदाबी आयोगले गरेको छ ।

शनिबार, ०२ असार, २०८१, साँझको ०६:२१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर