विराटनगर महानगरपालिका १२ का वडा सदस्य हुन् कुशेश्वर राजवंशी । उनले केही समयदेखि कार्यवाहक वडाध्यक्षको जिम्मेवारी पनि निर्वाह गरेर वडामा काम गरेका छन् । प्रस्तुत छ उनै वडा सदस्य राजवंशीसँग हाम्रोमत दैनिकले समसामयिक विषयमा गरेको कुराकानी :
तपाईंको वडामा केही विवाद देखियो । किन अरु राजनैतिक दलहरु असन्तुष्ट भएका हुन् ?
– विराटनगर १२ मा तपाईंले भनेजस्तो कुनै पनि विवाद छैन । हामी निर्वाचित भएर आएका पाँच जना जनप्रतिनिधिहरु आपसी सहमति र सहकार्यमा वडाको विकास निमार्णदेखि शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार सबै क्षेत्रमा काम गर्दै आएका छौं । हामीले पञ्च वर्षीय रणनीतिक योजना बनाएर वडाको विकासलाई व्यवस्थित गर्ने प्रयत्न गरेका छौं । काम गर्ने क्रममा केही असन्तुष्टीहरु आउन सक्छन् । त्यसलाई हामीले सुझावको रुपमा ग्रहण गर्ने गरेका छौं । कही कतै कमीकमजोरी भएका रहेछन् भने त्यसलाई सच्याएर अगाडि बढ्छौं । तर, तपाईंले भनेजस्तो वडाभित्र त्यस्तौ कुनै पनि विवाद छैन । वडामा जसपाबाट निर्वाचित वडाध्यक्ष र एक जना सदस्य छौं । बाँकी तीन जना एमालेबाट निर्वाचित साथीहरु हुनुहुन्छ । हामी सबै कसरी वडालाई समृद्ध बनाउन सकिन्छ भन्नेमै लागेका छौं ।
नेपाली कांग्रेस र नेकपा एमाले दुवैले ज्ञापन पत्र दिएरै असन्तुष्ट सार्वजानिक गरेका छन् नि ?
– नेपाली कांग्रेस र नेकपा एमालेको तर्फबाट वडामा ज्ञापन पत्र बुझाइएको छ । त्यसमा उहाँहरुले वडालाई कसरी राम्रो बनाउने, के कमजोरी भएको छ र त्यसलाई कसरी सच्याउनु पर्छ भनेर हामीलाई सुझाव दिनुभएको छ । वडाको काम र सेवा प्रभावहलाई छिटो र छरितो बनाउनको लागि रचनात्मक सुझावहरु दिनुभएको छ । त्यसलाई हामीले सकारात्मकरुपमा लिएका छौं र आगामी दिनमा उहाँहरुले उठाउनु भएको विषयलाई ध्यानमा राखेर काम गर्छौं ।
तर, तपाईंले भनेजस्तो कुनै असन्तुष्टि सार्वजानिक गरेको जस्तो मलाई लागेको छैन । वडा बनाउने अभियानमा उहाँहरुले सुझाव दिनुभएको हो र वडालाई आफ्नो कामप्रति जिम्मेवार बन्न घच्घच्याउनु भएको हो ।
बजेट निमार्ण लगायतका कतिपय कार्यक्रमहरुमा जनसहभागिता नगराएको, मनखुसी गरेको आदि विषयमा उहाँहरुले उठाउनुभएको प्रश्नलाई हामीले केही हदसम्म स्वीकार गर्नुपर्छ । वडाले चाहँदा चाहँदै पनि सबैलाई समेट्न सकेको छैन । आगमी दिनमा यीे विषयप्रति हामी गम्भीर हुनुपर्दछ भन्ने मलाई लागेको छ ।
तपाईंले कार्यवाहक सम्हालेपछि बिजुली खरिददगायत थुप्रै विषयमा आरोप लगाएको छ होइन ?
– उहाँहरुले उठाउनुभएको कुरालाई मैले आरोपको रुपमा लिएको छैन । बरु उहाँहरुले कुरा बुझ्नु भएन कि जस्तो लागेको छ । जहाँसम्म बिजुली खरिदको कुरा छ त्यो वडाले कोटेसन मार्फत प्रतिस्पर्धाबाटै सबै कानुनी प्रक्रिया पूरा गरेर खरिद गरेको छ । यो खरिद प्रक्रियाअगािड बढ्दा म कार्यवाहक थिइन् । यस्तै महेन्द्र मोरङ क्याम्पसदेखि दरैया मार्गसम्म, वडा कार्यालयदेखि मलहनुवासम्म भ्यापर लाइट लगाउँदा ८ लाख रुपैयाँमा २०० वटा भ्यापर लाइट खरिद गएको हो । साढे चार लाख रुपैयाँकोे सडक बत्ती खरिद गरिएको छ । वडाभित्र २४ सय सडकको पोल छन् । यी सबैमा बत्ती जडान गरिएको छ । बिजुली बत्ती शीर्षकको ३ लाख रुपैयाँ खर्च भएको छैन । त्यसैले कतिपय विषयहरु नबुझेका कारणले आएका हुन् भन्ने मलाई लागेको छ ।
तपाईं अध्यक्ष भएको विराट राजवंशी सांस्कृतिक पुस्ताकलयमा मात्रै बजेट लैजानुभयो । अरुलाई किन बेवास्ता गर्नुभएको त ?
– विराट राजवंशी सांस्कृतिक पुस्ताकलय एउटा ऐतिहासिक पुस्ताकलय हो । यो पुस्ताकलय सबै समुदायका मानिसहरु गएर अध्ययन गर्ने चौतारी जस्तो छ । महानगरभरिका मानिसहरु त्यहाँ गएर अध्ययन गर्ने गरेका छन् । त्यसैले पुस्तकालयको व्यवस्थापन र विकासका लागि हामीले बजेट विनियोजन गरेका हौं । पहिलेदेखि नै महानगरले यसमा बजेट दिँदै आएको थियो । हामीले निरन्तरता दिएको मात्र हो । महानगरले मात्र होइन कोशी प्रदेश सरकारले पनि पुस्तकालय भवनका लागि बजेट दिएको छ । यो सबैको सम्पत्ति भएकोले यसको विषयमा विवाद गर्न हुँदैन । बजेट लग्यो भनेर केही व्यक्तिले मात्र गुनासो गरेका हुन् धेरै यसप्रति खुसी नै छन् ।
आगामी वर्षको बजेटको तयारी कसरी गर्दै हुनुहुन्छ ?
कोशी राजमार्गबाट हाम्रो वडा प्रवेशद्वारको रुपमा रहेको पाञ्चाली चोकमा रहेको महाकवी लक्ष्मिप्रसाद देवकोटा स्मृति पार्कलाई हामीले यस वर्ष विशेष प्राथमिकतामा राखेर योजना बनाउँछौं । त्यसबाहेक नियमित विकास निर्माण र सामाजिक क्षेत्रमा गर्ने कामलाई नै निरन्तरता दिनेछौं ।