हुलाकी सडकको काममा ढिलाई भएकोप्रति आक्रोश

विराटनगर । मोरङको कटहरी गाउँपालिकाका जनप्रतिनिधि तथा स्थानीय अगुवाले विराटनगर–रंगेली हुलाकी सडकको काम अलपत्र भएकोमा आक्रोश व्यक्त गरेका छन् ।

युएनडिपीको सहयोगमा संसदीय पत्रकार मञ्च कोशीले कटहरी गाउँपालिका ५ बातरवस्तीमा बुधबार गरेको सार्वजनिक सुनुवाईका सहभागीले हुलाकी सडकको दुर्दशाप्रति आक्रोश व्यक्त गरेका हुन् ।

कोशी प्रदेशका सांसदहरू गयानन्द मण्डल, भीम पराजुली, जयप्रकाश चौधरी र गीता तिम्सिनाका साथै कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरी तथा अन्य जनप्रतिनिधिसामू स्थानीयले सडकको काम अलपत्र भएकोमा आक्रोश व्यक्त गरेका हुन् । सडकको काममा ढिलाइ हुँदा स्थानीयले सास्ती खेप्नु परिरहेको उनीहरुको भनाइ थियो ।

कार्यक्रममा सहभागी बातर समुदायका अगुवाहरुले आरक्षण कोटामा पहाडे र मधेशी समुदायमा विभेद हुने गरेको गुनासो गरे । स्थानीय मोहनलाल सरदारले पछिल्लो समयमा बातर समुदाय न घरको न घाटको भएको बताए । बातर जातिमा शिक्षादिक्षाको कमी रहेको र बेरोजगारी समस्या रहेको भन्दै उनले दलितको लागि राज्यले आरक्षण दिएको भएपनि त्यो पहाडे दलितको मात्र पहुँचमा रहेको दावी गरे ।

स्थानीय मुकेश बुढाथोकीले दलितहरुको बाहुल्यता रहेको क्षेत्रमा आर्थिक समृद्धि कसरी ल्याउने भन्ने विषयमा जनप्रतिनिधिहरुले चासो नदिएको गुनासो गरे । रोजगारी सिर्जना गर्नुपर्ने, उपचार सहुलियतमा साझेदारी गर्नुपर्ने र कृषि क्षेत्रको विकासका लागि जीर्ण भएका बोरिङहरु सुचारु गर्नुपर्ने उनको जोड छ ।

स्थानीय प्रेमकुमार सरदारले कृषि क्षेत्रको उत्पादनमा लागिरहेका बातर समुदायका लागि पर्याप्त बिउको व्यवस्था हुन नसकेको बताए । ४० किलो बिउ ५ सय किसानलाई कसरी बाँड्न पुग्छ भन्दै उनले पालिका अध्यक्ष देवराज चौधरीको ध्यानाकर्षण गराए ।

स्थानीय मञ्जिताकुमारी सरदारले कषक महिलाहरुलाई तालिममा सहभागी गराउँदा जग्गा नै नभएका र कृषि क्षेत्रमा समावेश नभएकाहरुलाई पठाउने गरेको भन्दै असन्तुष्टि व्यक्त गरिन् । यस्तै कटहरीकै सुवास बातरले आत्मनिर्भर शिक्षा नीति नहुँदा शैक्षिक बेरोजगारहरु बढिरहेको बताए । प्राविधिक शिक्षा दिनुपर्ने उनको भनाइ छ ।

कटहरीकै वीरबुद्ध मुडियारीले तराई मधेश समृद्धि योजना अन्तर्गत कटहरी ५ मा जनता आवास निर्माण गर्नका लागि छुट्याएको ४० लाख रकम फ्रिज भएकोप्रति जनप्रतिनिधिले जिम्मेवारी लिनुपर्ने बताए । मुडियारी समुदाय होमस्टे कार्यक्रममा छुट्याएको २५ लाख रकम पनि फ्रिज भएको, पालिकाले सार्वजनिक सुनुवाई नगरेको, कृषिमा बजेट नराख्ने तर भ्रमणको नाममा धेरै बजेट खर्च भइरहेको, छु्ट्याएको बजेट पनि उत्पादनमुखी भन्दा वितरणमुखी भएको, कृषि सामाग्री बाँड्दा पनि आसेपासेलाई मात्रै दिइएको र वास्तविक किसानले नपाएको गुनासो उनीहरुको गुनासो थियो ।

स्थानीय किशोर पाण्डेले कटहरीको जमिन र उद्योगलाई भरपुर उपयोग गर्न सक्नुपर्ने बताए । कटहरी गाउँपालिकालाई उद्योगमैत्री कसरी बनाउने, जमिनको उपभोग कसरी गर्ने र स्थानीयलाई कसरी रोजगारी दिलाउने भन्ने विषयमा चिन्ता गर्नुपर्ने उनको भनाइ छ ।

कटहरीकै सत्कर्म महतोले जनप्रतिनिधिले बाटो नबनाउने ठेकेदारलाई कार्वाहीको पहल गर्नुपर्ने बताए । स्थानीय सुवास बातरले काम गर्न नसक्ने ठेकेदारलाई कालोसूचीमा राख्नुपर्ने सुझाब दिए ।

कार्यक्रममा प्रदेश सांसद भीम पराजुलीले हुलाकी सडक निर्माणको लागि पहल गरिरहेको जानकारी दिए । ‘हामी आफैं सडक निर्माण गर्नुपर्छ भनेर अनसन बसेका छौं’ उनले भने, ‘अब प्रधानमन्त्रीसमक्ष डेलिगेसन जानुपर्छ जस्तो छ ।’ उनले सरकार बदलिए पनि प्राथमिकता एउटै हुनुपर्नेमा जोड दिए ।

सांसद गीता तिम्सिनाले पहाडे र मधेशी दलित भन्ने विषयमा केही समस्या देखिएको बताइन् । आफूले यो विषयमा प्रदेशसभामा आवाज उठाउने उनले बताइन् । यसअघि संसदमा प्रस्तुत गर्न तयार पारेको दलित अधिकार प्रबद्र्धन विधेयकलाई पुनः संसदमा प्रस्तुत गर्न सरकारसमक्ष पहल गर्ने उनले जानकारी दिइन् ।

सांसद जयप्रकाश चौधरीले विराटनगर रिङरोडको प्रगति १८ प्रतिशत भएको भन्दै हुलाकी राजमार्ग नबनाउने ठेकदार कान्छाराम कन्ट्रक्सनलाई कारबाही गर्नुपर्ने बताए । प्रदेश सांसद गयानन्द मण्डलले आफ्नो प्राथमिकता सिंचाई र कृषि रहेको भन्दै सिंचाई पर्याप्त भए बेरोजगारी समस्या पनि हल हुने बताए ।

कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले पालिकाले स्वास्थ्य, शिक्षा, पूर्वाधार, कृषि र उद्योगको क्षेत्रमा काम गरिरहेको जानकारी दिए । जातजाति, भाषा र धर्मको विषयमा लगानी गरिरहेको जानकारी दिँदै उनले आउँदो बजेट कृषि क्षेत्रलाई प्राथमिकता दिएर आउने बताए । बोरिङको लागि ३० लाखको बजेट प्रदेशबाट आएको र सिंचाईको लागि १ करोड दिने प्रतिबद्धता आएको भन्दै उनले अब केही हदसम्म सिंचाईको समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

प्रदेशका विकास निर्माण र कानून निर्माणका विषयलाई ग्रामीण क्षेत्रहरुमा पुगेर सुझाव संकलन गर्ने र संसदसँग समन्वय गर्ने उद्देश्यले संसदीय पत्रकार मञ्चले कार्यक्रम गरेको हो । बातर समुदायको बाहुल्य रहेको सो क्षेत्रमा उनीहरुको समस्याबारे प्रदेशका सांसदहरुले कसरी सम्बोधन गर्न सक्छन् भन्ने विषयलाई प्रमुखताका साथ उठाइएको संसदीय पत्रकार मञ्चका अध्यक्ष कुमार लुइँटेलले जानकारी दिए ।

बुधबार, ३० जेठ, २०८१, दिउँसोको ०४:५१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर