विराटनगर । मोरङको सुन्दरहरैँचा ६ मा बुधबार एउटा हात्ती मृत फेला परेको छ । सुन्दरहरँचा नगरपालिका ६ स्थित भक्तराज लिम्बूको केरा बगानभित्र हात्तीको छावा मृत फेला परेको हो ।
अन्दाजी ६–७ वर्षको भाले छावा बिहान ६ बजेतिर मृत अवस्थामा भेटिएको स्थानीयले बताएका छन् । सबडिभिजन वन कार्यालय सलकपुर र प्रहरी चौकी गछियाको टोलीले घटनास्थल पुगेर मुचुल्का उठाइरहेको सबडिभिजन वन कार्यालयका प्रमुख अमृतविलास पन्तले जानकारी दिए ।
हात्तीको बच्चा कसरी व्यक्तिको केरा बगानभित्र पुग्यो र मृत भेटियो भन्ने विषयमा अनुसन्धान भइरहेको वन कार्यालयले जनाएको छ । हात्तीको सुँडको छेउमा सामान्य चोट देखिएको र शरीरका अन्य भागमा कुनैपनि चोटपटक नदेखिएको पन्तले जानकारी दिए ।
सुनसरीस्थित कोशी टप्पु वन्यजन्तु आरक्षको टोली पनि घटनास्थलमा रहेको छ । गत पुस दोस्रो साता पनि मोरङको सुन्दरहरैचा–१० स्थित जनजागरण सामुदायिक वनमा जंगली हात्ती मृत भेटिएको थियो । त्यो हात्तीलाई भने गोली हानेर मारिएको फेला परेको थियो ।