विराटनगर । स्वास्थ्य बीमा बोर्डले विराटनगरस्थित लाइफगार्ड अस्पतालको ‘स्वास्थ्य बीमा कार्यक्रम’ रद्द गर्ने भएको छ । लाइफगार्ड अस्पतालका सञ्चालकसमेत रहेका यूरोलोजिष्ट डा. इकबाल अहमदले विमामार्फत उपचार गराएका विरामीसँग थप रकम लिएको विषय सार्वजनिक भएपछि स्वास्थ्य बीमा बोर्डले अस्पतालसँगको सम्झौता रद्द गर्ने भएको हो ।
अप्रेशनको नाममा विरामीसँग दोहोरो रकम लिएर अस्पतालका चिकित्सक इकबालले ठगी गरेको समाचार हाम्रोमत दैनिकले प्रकाशित गरेको थियो । समाचार सार्वजनिक भएपछि स्वास्थ्य बीमा बोर्डले चार सदस्यीय छानविन समिति गठन गरेको छ । गठित समिति विराटनगरमा आएर ठगीको घटनाको छानविन थालिसकेको छ ।
बोर्डले गठन गरेको छानविन समिति मंगलबार विराटनगर आएर अनुुसन्धान सुरु गरेको स्वास्थ्य बीमा बोर्ड कोशी प्रदेशका प्रमुख अर्जुन पन्डितले जानकारी दिएका छन् । समितिले छानबिन सकेर प्रतिवेदन बुझाएलगत्तै लाईफगार्डको स्वास्थ्य बीमा कार्यक्रमको सम्झोता रद्द गर्ने प्रक्रिया अगाडि बढाउने स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले जानकारी दिए ।
‘ठगी भएको समचार र गुनासोसहितको उजुरी परेपछि हामीले छानविन समिति गठन गरेर विराटनगर पठाएका छौं’ लोहनीले भने, ‘अहिले समितिले अस्पतालमा गएर छानविन गर्दैछ । यसअघि पनि लाईफगार्डको नाममा गुनासो आएको र अहिले प्रमाणसमेत देखिएकोले स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्ने तयारीमा छौं ।’ छानविन समितिले दिएको प्रतिवेदनको आधारमा अस्पतालमाथि थप कारवाहीको प्रक्रिया पनि अगाडि बढ्ने उनले जानकारी दिए ।
छानविन समितिले एक हप्ताभित्रमा प्रतिवेदन बुझाउने स्वास्थ्य बीमा बोर्ड कोशी प्रदेशका प्रमुख पन्डितले बताए । ‘अहिले छानविन समिति आएर अनुसन्धान गर्दैछ । छानविनको प्रक्रियामा रहेकाले अहिले मैले केही बोल्न मिल्दैन’ उनले भने, ‘प्रतिवेदन बुझाएपछि थप विषय जानकारी गराउनेछौं ।’ छानविनको क्रममा फेला परेका प्रमाणहरुबारेमा अहिले बोल्न नमिल्ने उनले बताए ।
लाइफगार्डमा तीन वर्ष अगासडदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू भएको थियो । अस्पताललमा दैनिक १०० जनाले स्वास्थ्य बीमा कार्यक्रममार्फत उपचार गराउने गरेका छन् । जसमध्ये २ देखि ५ जनासम्मको दैनिक शल्यक्रिया हुने गरेको अस्पतालको अभिलेखमा देखिन्छ ।स्वास्थ्य बीमा कार्यक्रम सुरु भएपछि स्वास्थ्य बिमाबाट अप्रेसनको भुक्तानी लिएपछि अस्पतालका डा.अहमदले थप रकम असुलिरहेका थिए । अप्रेसन थिएटरभित्रै सहयोगी राखेर उनले शल्यक्रिया गर्नुपर्ने विरामीका आफन्तसँग १५ हजारदेखि ४० हजार रुपैयाँसम्म लिने गरेको पीडितहरुले बताएका छन् । तर, त्यसको कुनै बिल भने अस्पतालले नदिएको उनीहरुको भनाइ छ ।
विरामीलाई अप्रेसन थिएटरमा पसाएपछि विरामीका आफन्तलाई चिकित्सक इकबालको टिमले टिम व्यवस्थापन र उपकरणको नाममा थप रकम असुल्ने गरेको थियो । डा.इकबालले पथरीशनिश्चरे २ – की २९ वर्षीया निहा साम्बाको शल्यक्रिया गर्दा बीमाबाहेक थप १५ हजार र पथरीशनिश्चरे २ का ४० वर्षीया धनेश्वरि लिम्बूको शल्यक्रिया गर्दा थप ३० हजार रुपैयाँ लिएको विरामीका आफन्तले बताएका छन् । उपचारको नाममा ठगी गरेको घटना हाम्रोमत दैनिकले सार्वजनिक गरेपछि डा.इकबालले आफ्ना मानिस परिचालन गरेर पीडित परिवारलाई दबाब र प्रलोभन दिँदै घटनाबारे कतै उजुरी नदिन भनेका थिए । पीडितहरुको घरमै पुगेर उपचारको क्रमम लिएको थप रकम फिर्ता दिने भन्दै उनले घटना सामसुमको प्रयास गरेपनि बीमा बोर्ड कार्वाहीमा उत्रिएको छ ।