मोहनी लगाउने जेफाले (फोटोहरु)

पर्यटकीय पूर्वाधारको पर्खाइमा सुगम जिल्ला मोरङको दुर्गम क्षेत्र जेफाले

विराटनगर । सुगम जिल्ला मोरङको दुर्गम क्षेत्रमा पर्छ पर्यटकीय जेफाले डाँडा । जेफाले डाँडाले अहिले पर्यटकीय पूर्वाधारको माग गरिरहेको छ । मोरङको केराबारी हुँदै जेफाले डाँडासम्म जाने बाटो बन्ने क्रममा छ । वाह्रैमास शिरिरि हावा चलिरहने, छिनछिनमै मौसम परिवर्तन हुने १ हजार ९७० मिटर उचाइमा रहेका जेफालेबाट पूर्वको १६ जिल्ला देखिन्छ । यहाँबाट सूर्योदय, सूर्यास्त, हिमाल, पहाड, तराईको दृश्यावलोकन पनि गर्न सकिन्छ ।

जेफालेका स्थानीय भीम ठकुरीका अनुसार यहाँबाट विश्वकै अग्लो हिमाल सगरमाथा, कञ्चनजङ्घा पनि देख्न सकिन्छ । जेफाले भ्युटावरबाट दक्षिण पश्चिममा पाथिभरा देवीको मन्दिर छ । यो क्षेत्र धार्मिक, सांस्कृतिक र पर्यावरणीय पर्यटनको संगमस्थल बन्ने जानकारहरु बताउँछन् ।

जेफाले पुग्न धनकुटाको भेडेटार राजारानीबाट सम्वेवा चोक हुँदै पनि जान सकिन्छ । जेफालेमा अहिले ११ वटा होमस्टे संचालनमा रहेको जेफाले सामुदायिक होमस्टेका अध्यक्ष युवराज खड्का बताउँछन् । सञ्चार, शिक्षा, सडकलगायतका विकासको पूर्वाधारबाट पछि परेको जेफाले क्षेत्रमा होमस्टे सेवा सुरु भएपछि स्थानीयका लागि आम्दानीको स्रोत बढ्दै गएको छ । स्थानीय कृषि उद्यमी तथा व्यवसायी बिनादेवी राईको इलाम बिर्साउने चिया बगान पर्यटकलाई तान्ने अर्को आकर्षक गन्तव्य हो ।

चियाबारी करिब १ हजार रोपनी क्षेत्रफलमा छ । चियाबारीको मनोरम दृश्यावलोकन तथा अध्ययन अनुसन्धानका लागि महत्वपूर्ण मानिन्छ । पर्यावरण, मौसम र त्यहाँबाट देखिने मनमोहक दृश्यले एक पटक पुगेकाहरुलाई जेफालेको मोहनीले घरिघरि तानिरहन्छ लगाउँछ ।

मङ्गलबार, २९ जेठ, २०८१, बिहानको ०७:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर


You cannot copy content of this page