गोकुल पराजुली
क्रिकेटर सन्दीप लामिछानेले विश्वकप खेलेको हेर्ने दर्शकहरुको अटुट चाहना पूरा हुनेभएको छ । क्रिकेटर सन्दीपको अनुपस्थितिमा नेपाली क्रिकेट टोलीले राम्रो लय समाउन सकिरहेको थिएन । पछिल्ला खेलहरुमा बनेको स्कोर र विपक्षी टोलीलाई न्यूनतम अंकमा रोक्नका लागि भएका प्रयासहरुका बाबजुद दर्शकहरुले सन्दीपको अभाव महशुस गर्दै आएका छन् ।
नेपाली क्रिकेट टोलीलाई विश्वकपसम्मको यात्रा गराउन महत्वपूर्ण योगदान गरेका लामिछाने यस पटकको विश्वकप खेल्नबाट करिब बञ्चित भइसकेका थिए । अदालतमा बलात्कारको आरोप खेपिरहेका उनले अभियोग प्रमाणित हुँदा खेल खेल्ने सपना करिब सधैँका लागि छोड्नु पर्ने थियो भने अभियोग प्रमाणित नहुँदा विश्वकप खेल्ने झिनो सम्भावना जीवित थियो । त्यसै क्रममा उच्च अदालत पाटनले सन्दीपको मुद्दा प्रमाणित नहुने ठहर गरी सफाइ दिएपछि नेपाली क्रिकेटका फ्यानहरु, क्रिकेट एशोसिएसन नेपाल(क्यान) र उनी सम्मिलित टोलीमा एउटा आशाको सञ्चार भएको थियो । सोही बमोजिम क्यानले कुनै ढिलाइ नगरी सन्दीपलाई विश्वकप खेल्ने टोलीमा समावेश गर्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसिसी)सँग समन्वय गरी खेलमा सहभागी हुनसक्ने सबै तयारी गरेको थियो । तर विश्वकप खेल्नका लागि अमेरिकाले सन्दीपलाई भिसा दिएन । यसले सन्दीपको खेल्ने सपनासँगै उनको खेल हेर्न व्यग्र प्रतीक्षा गरिरहेका दर्शकहरुलाई निराश बनाएको थियो ।
सन्दीपलाई अमेरिका प्रवेश गर्नका लागि भिसा नदिन एकथरी समूहले निकै ठुलो प्रयत्न गरेको थियो । अमेरिकी राजदूतावासमा उनीहरुले लबिइङ गरेर भिसा नदिन दबाब दिएका थिए । सन्दीपलाई सहयोग गरेको भन्दै सुरुवातदेखि नै उनीहरु क्यानको उग्र विरोधमा थिए । क्यानविरुद्ध विभिन्न आरोपहरु लगाउँदै सन्दीपमाथि प्रहार केन्द्रित गरेका थिए । त्यो सृङ्खला अदालतबाट सफाइ पाइसक्दासमेत रोकिएन । देशका लागि विश्वकप खेलेर योगदान दिनसक्ने अवसरबाट उनीहरु सन्दीपलाई जसरी पनि रोक्न चाहन्थे । त्यसैको परिणाम थियो प्रधानमन्त्री, परराष्ट्रमन्त्री र खेलकुदमन्त्री विराजभक्त श्रेष्ठहरुको पहलसमेतलाई अमेरिकी राजदूतावासले बेवास्ता गरिदियो । त्यसपछि भने सन्दीपको विश्वकप खेल्ने सम्भावना करिब अन्त्य भएको सबैले ठाने ।
तर, क्यानका दुई पदाधिकारी पारस खड्का र चतुरबहादुर चन्दको चातुर्यतापूर्ण भूमिकाले अहिले सन्दीप विश्वकप खेल्न वेस्ट इण्डिज पुगेका छन् । यो खबरले नेपाली क्रिकेटका दर्शकहरुलाई उत्साहित बनाएको छ भने नेपाली टिममा खेल जित्ने आशा अवश्य पनि जागृत भएको हुनुपर्छ । अब सन्दीपले सम्भवत वेष्ट इण्डिजमा हुने दुवै खेलमा सहभागिता जनाउने छन् । अमेरिकामा बुधबार बिहान हुने श्रीलंकाविरुद्धको खेलमा उनी सहभागी हुने छैनन् ।
सन्दीपलाई वेस्ट इन्डिज पु¥याउने सबैभन्दा ठूलो श्रेय नेपाल क्रिकेट संघ (क्यान) लाई नै दिनुपर्छ । यदि क्यानका पदाधिकारीहरुले हल्लाखल्ला गरेर सन्दीपलाई त्यहाँ पठाउन खोजेका भए अमेरिकामाजस्तै अवरोध हुनसक्थ्यो । विरोधमा ज्यानफालेर लागेकाहरुले उनले यात्रा गर्ने हरेक ट्रान्जिटमा बाधा गर्न सक्थे । हुन त सन्दीपले अदालतबाट सफाइ पाइसकेका छन् । तरपनि उनलाई क्रिकेटमा निरन्तरता दिएको देख्न नचाहनेहरुको प्रयत्न अझै जारी छ । अब विश्वकपको बाँकी खेल जिताएर वा आफ्नो तर्फबाट अधिकतम प्रयत्न गरेर उनले विरोधीहरुलाई जवाफ दिनुपर्छ । सँगसँगै आगामी दिनमा पनि अझ धेरै अवरोध आउनसक्छ भन्ने हेक्का राखेर उनी आफूलाई नैतिक आचरणमा बाँध्ने र नेपाली क्रिकेटमा अझबढी समर्पित भएर प्रस्तुत हुनुपर्छ । त्यसो भएमा क्यानका वर्तमान अध्यक्ष, सचिवलगायतले गरेको मिहेनतको साँचो अर्थमा सम्मान हुनेछ भने नेपाली क्रिकेट टोलीका लागि उनले आफूलाई पुनर्पुष्टि गराउने यो अवसरको सदुपयोग पनि हुनेछ ।