लाइफगार्डको ठगी गुपचुप पार्ने प्रयास : विमा बोर्डले सोध्यो स्पष्टिकरण

विराटनगर । विराटनगरस्थित लाइफगार्ड हस्पिटलभित्र अप्रेसननको नाममा विरामीसँग मनलाग्दी रुपमा रकम लिएर ठगी गरेको घटना सामसुम पार्ने प्रयासमा अस्पताल लागेको पाइएको छ ।

लाइफगार्डका सञ्चालकसमेत रहेका डा.इकबाल अहमदले विभिन्न व्यक्ति परिचालन गरेर पीडित भएका व्यक्तिहरूको घरमा पुगेर विभिन्न आश्वासन र प्रलोभन दिएका छन् ।

हाम्रोमत दैनिकले ‘लाइफगार्ड अस्पतालको ठगी’ को विषयमा समाचार प्रकाशित गरेपछि डा.इकबालले विभिन्न व्यक्तिलाई पीडितको घरमा पठाएर मिलाउन दबाब र प्रलोभन दिएका हुन् । मोरङको थरीशनिश्चरे नगरपालिका २ मा पुगेका अस्पताल र डा. इकबालका प्रतिनिधि बताउने व्यक्तिहरुले ‘एक पटक गल्ती भइहाल्यो, अब हुँदैन, मिल्नुपर्छ । कतै उजुरी नगर्नु’ भनेको पीडितले बताएका छन् ।

पीडित पथरी २ का भुपाल श्रेष्ठका अनुसार अस्पतालका प्रतिनिधि बताउने व्यक्तिहरुले पीडित परिवारलाई भेटेर दबाब र आश्वासन दिइरहेका छन् । आफू विरामीलाई ठगी गर्ने चिकित्सक र अस्पताललाई कारवाही हुनुपर्ने पक्षमा रहेको भन्दै उनले दोहोरो रुपमा रकम असुली गर्नेलाई छाड्न नहुने बताए ।लाइफगार्डमा स्वास्थ्य विमामार्फत उपचार गर्न पुगेका विरामीलाई अप्रेशन कक्षमा प्रवेश गराएपछि डा. इकवालको टिमले थप रकम असुली गर्ने गरेको खुलेको थियो । ‘स्वास्थ्य बीमा गरेर उपचारको लागि गएका विरामी आर्थिक रुपमा कमजोर हुन्छन्’ पीडितमध्येका श्रेष्ठले भने, ‘स्वास्थ्य वीमाबाट पनि रकम लिने र विरामीबाट पनि लिने यो ठगी भएकोले कार्वाही हुनुपर्छ ।’

अस्पतालका डा.इकबालले ‘पीडितलाई मिलाउन’ भन्दै ५ जनाको समूहलाई शनिबार पथरी पठाएको बुझिएको छ । उनीहरुले दिनभरी पथरीमा बसेर पीडितलाई फकाउने प्रयास गरेका थिए । ‘पीडितले भनेको सम्पूर्ण डिमान्ड पूरा गर्ने तरिकाले चिकित्सक इकबाल लागिपरेका छन्’ स्रोतले भन्यो, ‘घटना मिलाउन कति खर्च गर्नुपर्छ, उनी रकम खर्च गर्न तयार भएर पीडितमा घरमा टोली पठाएका हुन् ।’उनीहरुले उपचारमा भएको सम्पूर्ण खर्च फिर्ता दिने भन्दै पीडितको घर पुगेका छन् । पीडितलाई प्रहरी र स्वास्थ्य विमा बोर्डमा उजुरी नदिन उनीहरुले दबाब दिएका छन् ।पीडितहरुले आइतबार विराटनगरमा रहेको स्वास्थ्य विमा बोर्डमा र जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिने तयारी गरेका थिए । पीडितलाई दवाव दिएको कारण उनीहरु उजुरी दिन आइपुगेका छैनन् ।

स्वास्थ्य बिमाबाट अप्रेसनको भुक्तानी लिएपछि पनि डा.इकबालले विरामीसँग सहयोगीमार्फत शल्यक्रिया कक्षमै विरामीका आफन्त बोलाएर थप रकम असुल्ने गरेका थिए । स्वास्थ्य बिमाबाट रकम लिएपनि थप १५ देखि ४० हजार रुपैयाँसम्म उनको टोलीले असुल्ने गरेको पीडितले बताएका छन् ।

यसैबीच स्वास्थ्य वीमा बोर्ड कोशी प्रदेशले विरामी ठगी गरेको विषयमा हस्पिटल र चिकित्सकलाई २४ घण्टाभित्र जवाफ पेश गर्न पत्रचार गरेको छ । स्वास्थ्य विमा बोर्ड कोशी प्रदेशका प्रमुख अर्जुन पण्डितले हस्पिटललाई २४ घण्टाभित्र यथार्थ विवरण पेश गर्न पत्राचार गरेको बताए । ‘२४ घण्टाभित्र जवाफ माग गरिएको छ । जफात फर्काएपछि कारवाहीको प्रक्रिया अगाडि बढ्नेछ,’ उनले भने ।

सोमबार, २८ जेठ, २०८१, बिहानको ०७:२७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर