विराटनगर । मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेको समय आज सकिँदै छ ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार बिहान १० बजेसम्मको समय दिएको थियो ।
बुधबार मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी थिइन् । आजै मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने तयारीमा सत्तारुढ दलका नेताहरु जुटेका छन् । । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीले मधेशमा सरकार बनाउन लागेका हुन् ।
मधेशमा जनमत पार्टीका सांसद सतिशकुमार सिंहको नेतृत्वमा सरकारको लागि दाबी पेश गर्ने तयारी छ ।
प्रदेश सांसद सिंहलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय जनमत पार्टीले गरीसकेको छ । सिंह अध्यक्ष डा. सीके राउतको संसदीय क्षेत्रबाट निर्वाचित सासद हुन ।
सिंह जनमत पार्टीका संसदीय दलका नेता भने होइनन् । राउतकै संसदीय क्षेत्रबाट निर्वाचित महेश प्रसाद यादव संसदीय दलका नेता छन् । उनी यसअघि पार्टीको तर्फबाट नेतृत्व गर्दै सरकारमा सहभागी भइसकेका छन् ।
मधेशका मुख्यमन्त्री सरोजकुमार यादव बुधबार पदमुक्त भएका थिए । बुधवार प्रदेशसभाबाट विश्वासको मत पाउन असमर्थ भएपछि उनी मदमुक्त भएका हुन् ।
प्रदेशसभामा उपस्थित रहेका कुल १०३ सांसदमध्येबाट यादवको पक्षमा ५० मत आयो भने उनको विपक्षमा ५३ मत परेको छ ।