विराटनगर । आउँदो पाँच वर्षका लागि नयाँ नेतृत्व निर्वाचित गर्न छ दिनअघि मतदान गरेका विराट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका सदस्यहरु मतपरिणाम कुरेर बसेका छन् । झण्डै एकसाता बित्न लाग्दासमेत आफूले मतदान गरेका उम्मेदवारहरुको हारजितको अवस्था थाहा पाउन नसक्दा उनीहरु अन्यौलमा परेका छन् । जेठ १९ गते शनिबार चर्को गर्मीमा मतदान गरेर फर्किएका उपभोक्ताहरुमा आफूले दिएको मत के भयो भन्ने जिज्ञासा बढेको छ । तर, उपभोक्ताहरुले दिएको मत निर्वाचन आयोगको मतपेटिकामा साता दिनदेखि बन्धक बनेको छ ।
मानगढ खानेपानी आयोजनाको नेतृत्व निर्वाचित गर्नका लागि मतदान भइरहेको बेला शनिबार साँझपख मतदानस्थलमा विवाद भएको थियो । अध्यक्ष पदका उम्मेदवार राम घिमिरे पक्षले धाँधली गर्न खोजेको भन्दै अर्को पक्षले मतदानस्थलमा होहल्ला गरेपछि अन्तिम समयमा मतदान रोकिएको थियो ।त्यतिबेला केही मतदाताहरु मतदान गर्न लाइनमा बसिरहेका थिए । त्यसै बेला होहल्ला भएपछि मतदान रोकेर विवाद मिलाउन गरिएको प्रयत्न सफल भएन । त्यसपछि निर्वाचन समितिले मतपेटिकामा परेको मतको सुरक्षा गर्न मुचुल्का तयार पारेर शिलबन्दी र लाहाछाप गरेको थियो ।
विवादका कारण मतदान गर्न ब्यालेट पेपर प्राप्त गरी लाइनमा बसेका मतदाताहरुलाई आइतबार मतदानमा सहभागी गराउने सहमति निर्वाचन समितिले त्यसै दिन गरेको थियो । तर त्यस विषयमा अध्यक्ष पदका उम्मेदवार दुर्गा चापागाईँ सहमत नभएपछि विवाद लम्बियो । परिणामस्वरुप ५३ प्रतिशत मतदाताले मतदान गरिसकेको मतपेटिका निर्वाचन कार्यालयको कोठामा थुनेर राखिएको छ ।
मतपेटिकामा भएको मत गणना गर्ने वा पुन मतदान गर्ने भन्ने विषयमा अहिलेसम्म कुनै सहमति जुटेको छैन । अध्यक्ष पदका उम्मेदवार चापागाईँले जिल्ला प्रशासन कार्यालयमा निवदन दिँदै निर्वाचन भद्रगोल ढंगले सञ्चालन भएकोले फेरि नयाँ निर्वाचन गर्न माग गरेकी छन् । उक्त निवेदनमाथि मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश भट्टराईले राजनीतिक दलका प्रतिनिधिहरुसमेतको सर्वपक्षीय छलफल गराइसकेका छन् । त्यस छलफलबाट पनि कुनै निश्कर्ष ननिस्किएपछि ३ हजार भन्दा बढी उपभोक्ताको मत मतपेटिकामै बन्धक बन्ने अवस्था उत्पन्न भएको हो ।
नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा ३ हजार ३७२ जना मतदाताले निर्वाचन अधिकृतहरुबाट मतपत्र बुझेका छन् । मतदान गर्न लाइनमा बसेका केहीले विवादका कारण मतदान गर्न पाएनन् । जसले गर्दा मतपेटिकामा त्यो भन्दा कमसंख्यामा मात्र मतपत्रहरु रहेको अनुमान गरिएको छ । यद्यपि ३ हजार १ सयभन्दा बढी मत मतपेटिकामा रहेको बताइएको छ । मानगढका ५ हजार ९ सय उपभोक्ताहरुमध्ये आधाभन्दा बढीले मतदान गरेका कारण विवादलाई देखाएर फेरि निर्वाचन गर्ने कुरा न्यायसंगत नहुने स्थानीय उपभोक्ताहरुको धारणा छ । यद्यपि दलगतरुपमा विभाजित केही मतदाताहरु भने पुन निर्वाचन हुनुपर्ने, वा बाँकी रहेकाहरुलाई मतदानको अवसर दिनुपर्ने धारणा सार्वजनिक गरिरहेका छन् ।
मोरङका प्रमुख जिल्ला अधिकारी भट्टराईले मानगढ खानेपानीको निर्वाचन सम्बन्धी विवाद निरुपणका लागि कानुनी परामर्श अघि बढाएको जानकारी दिएका छन् । उनले शुक्रबारसम्म आफूले निर्णय दिने बताए । उनले भने ‘निर्वाचन प्रक्रियामा मेरो जस्टिस हुँदैन, अरु संघ संस्थाको विषय भएको भए मेरो जस्टिस हुन्थ्यो त्यसैले मैले कानुनी परामर्शमा पठाएको छु, परामर्श प्राप्त भएपछि निर्णय हुन्छ । शुक्रबारसम्ममा यो विवादको निर्णय हुन्छ ।’
कानुनी परामर्शबाट कस्तो सुझाव आउँछ सोही अनुसार निर्णय लिइने प्रजिअ भट्टराईले बताएका छन् । उनले भने ‘सुझाव कस्तो आउँछ मैले भन्ने कुरा भएन तर त्यहाँ देखिएको विवाद अनुसार तीनओटा मध्ये कुनै काम हुन सक्छ त्यो भनेको मतदान गर्न बाँकी रहेकाहरुलाई मतदान गर्न दिने वा मतपेटिकामा भएका मत गणना गर्ने अथवा पुन निर्वाचन गर्ने भन्ने हो । यीमध्ये कुनै पनि विकल्पमा जाने निर्णय हुनसक्छ ।’
उमेरका कारण सकिनसकी मतदान गर्न गएकी विराटनगर ४ कि जानुका घिमिरे आफूले दिएको मत बाकसमा बन्धक बनाएर राख्न नहुने भन्दै मतगणना गर्नुपर्ने बताउँछिन् । उनी भन्छिन् ‘हामीले सहजरुपमा मतदान गरेका छौं, कसैले विवाद गरेकै आधारमा हामीले दिएको मत खारेज गर्न हुँदैन, हामी वृद्ध अवस्थाका व्यक्तिहरु घरिघरी भोट दिन जान पनि सक्दैनौं त्यसैले मतगणना हुनुपर्छ ।’
घिमिरेको जस्तो धारणा व्यक्त गर्ने उपभोक्ताहरु धेरे छैन । मानगढ खानेपानी आयोजनाका उपभोक्ताहरुले विगतमा पनि ५५ प्रतिशत हाराहारीमा मतदान गर्ने गरेका थिए । यसपटक पनि त्यही हाराहारीमा मतदान भएकोले मतगणना गरेर मतपरिणाम घोषणा गर्नुपर्ने धारणा अधिकांश उपभोक्ताहरुले व्यक्त गरिरहेका छन् ।