विराटनगर । इलाम नगरपालिका–२, सुम्बेकका आमा छोराले झुण्डिएर आत्महत्या गरेका छन् । शनिबार बिहान आमा ४३ वर्षीय फूलमाया तामाङ र उनका छोरा अन्दाजी २० वर्षका जीवन तामाङ एकै ठाउँमा झुण्डिएको फेला परेका हुन् ।
इलामका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार दुवै जनाले घरको दलिनमा डोरीको पासो लागेर झुण्डिएको फेला परेको जानकारी दिए । घरमा आमा छोरा मात्रै बस्ने गर्दथे । ‘बुबा चाहिं ज्याला मजदुरी गर्न एक महिना अगाडि नै बाहिर गएका रहेछन् । मादक पदार्थ सेवन गरेर बिहानै आमा छोराको झगडा भएको रहेछ,’ ढकालले भने ।
प्रहरीका अनुसार आमा–छोरा नै मापसे गर्ने गर्दथे । शनिबार पनि आमा छोराबीच विवाद सामान्य भएको थियो । विवाद पछि आमा फूलमायाले गाउँलेलाई लिएर आउँछु भनेर बोलाउन निस्किएकी थिइन् । आमा निस्केको मौका पारेर छोरा झुण्डिएका थिए । ‘आमा आइपुग्दा छोरा झुण्डिएको अवस्थामा रहेछ । छोरा झुण्डिएको देखेपछि आमाले पनि झुण्डिएको पाइयो । पछि गाउँलेहरु आउँदा दुवै जना झुण्डिएको देखियो,’ ढकालले भने ।
प्रहरी प्रमुख ढकालले जीवनका बुबालाई भेटेर सोधपुछ गर्ने काम भइरहेको जानकारी दिए । ‘घटनालाई हामी विभिन्न कोणबाट हेर्दैछौं । प्रारम्भीक कोणबाट हेदा उनीहरुबीच बेलाबेलामा झगडा गर्दथे भन्ने कुरा थियो । तर, आत्महत्या नै गर्नुपर्ने कुनै ठूलो इस्यु चाहिं थिएन,’ ढकालले भने ।