प्रहरी परिचालन गरेर प्रशारण लाइनको काम

इटहरी । ढल्केबर– दुहबी ४०० केभी हाइटेन्सन विद्युत प्रसारण लाइनअन्तर्गत बराहक्षेत्र–८ मा प्रहरी परिचालन गरेर प्रशारण लाइन निर्माण सुरु भएको छ ।उचित मुआब्जा वा विद्युत लाइनको स्थानान्तरणको माग गर्दै आन्दोलित स्थानीयविरुद्ध आयोजनाले प्रहरी परिचालन गरी काम सुरु गरेको हो ।

सशस्त्र प्रहरी र नेपाल प्रहरीको सयौंको संख्यामा हाइटेन्सन लाइनको पोल वरपर परिचालित प्रहरीले आफूलाई दुव्र्यवहार गरेको स्थानीय भीम याक्खाले बताए । आयोजनास्थलमा सुरक्षाकर्मी खाजा सामल लिएरै बसेपछि काम अघि बढेको छ ।

स्थानीयको विरोधका बावजुद आन्दोलनको कुनै सुनुवाई नगरी प्रहरीको बाक्लो सुरक्षा घेरामा हाइटेन्सन लाइनको काम सुरु भएको पीडित याक्खाले बताए । आन्दोलनकारीले मेयर र वडाध्यक्षले समेत जनताको मागलाई बेवास्ता गरेको उनीहरुको भनाइ छ ।

पीडितका अनुसार पहिले ६ लेनको सडक बनाउने नाममा जनतालाई झुक्याएको त्यसपछि केबलकार सञ्चालन गर्ने योजना हो भन्दै झुट बोलेर पोल गाडिएको हो । जनतालाई भ्रम छरेर हाइटेन्सन लाइन विस्तार गर्न लागिएको स्थानीय टंक कार्कीले बताए । उनले आफ्नो १० कट्ठा जमिन हाइटेन्सन लाइनमा परेको बताएका छन् ।

मूल्याङ्कनको २० प्रतिशत मुआब्जा दिने नाउँमा लाइन बिस्तार गरेपनि आफूहरु मार्कामा परेको स्थानीयको भनाइ छ । नगरप्रमुख रमेश कार्कीले न जनता आन्दोलित हुँदा पनि वास्ता नगरेको स्थानीयको आरोप छ ।

स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय, प्रदेश सरकारसम्म पीडित भएको गुनासो लिएर पुग्दासमेत पीडितहरुको माग सुनुवाई नभएको उनीहरूको गुनासो छ । हाइटेन्सन लाइन पीडितले राज्यविरुद्ध संघर्ष गर्न बाध्य भएको बताए । उनीहरुले सङ्घर्षका लागि ’हेटौंडा– ढल्केबर– दुहबी ४०० केभी हाइटेन्सन पीडित संघर्ष समिति’ निर्माण गरेका छन् ।

राष्ट्रिय गौरवको आयोजना सञ्चालन गर्दा स्थानीयसँग सहमति गर्ने, असर– प्रभाव मूल्याङ्कन गर्नेलगायतका सामान्य सिद्धान्तसमेत ख्याल नगरी आयोजना र सरकारले जनतामाथि अन्यायको डन्डा चलाएको स्थानीयको आरोप छ । बारम्बार जानकारी गराउँदा समेत स्थानीय जनप्रतिनिधि जनताको मार्का र हाइटेन्सनको सम्भावित प्रकोपबारे निरीक्षणसमेत गर्न नआएको सचिव लिम्बूले आरोप लगाए ।

राजा महेन्द्रले भूपू सैनिकहरुलाई संगठित गराई बसाएको यो बस्ती सुनसरी जिल्लाको वराहक्षेत्र–८ स्थित सैनिकमा पर्छ ।

 

बिहिबार, १७ जेठ, २०८१, साँझको ०५:५८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर