विराटनगर । क्रिकेटर सन्दीप लामिछानेलाई टी–२० विश्वकप खेल्न जानलाई अमेरिकाले भिसा दिन फेरि अस्वीकार गरेको छ ।
सन्दीपलाई बिहीबार अन्तर्वार्ताका लागि बोलाए पनि अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
निलम्बन फुकुवा भएपछि सन्दीपले अमेरिकाको भिसाका लागि आवेदन दिँदा गत साता पनि दूतावासले उनको आवेदन अस्वीकृत गरिदिएको थियो ।
त्यसपछि क्यानका अध्यक्ष चतुरबहादुर चन्दले प्रधानमन्त्रीलाई अनुरोध गरेर परराष्ट्र मन्त्रालयमार्फत् उनलाई भिसा दिलाउन पहल गरिने बताएका थिए ।
तर अमेरिकी दूतावासले भने भिसासम्बन्धी अभिलेखहरू गोप्य हुने भन्दै लामिछानेले भिसा नपाएको विषयमा प्रतिक्रिया दिन अस्वीकार गरेको थियो ।
आगामी जुन १ देखि अमेरिका र वेस्ट इन्डिजमा टी–२० विश्वकप हुँदैछ । नेपाली टोली अहिले अमेरिकामा अभ्यास खेल खेलिरहेको छ ।