धनकुटा । नेकपा (एमाले) धनकुटाको आठौँ जिल्ला अधिवेशनबाट शिव आङ्ला अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्षमा आङ्ला ३१४ मतका साथ विजयी भएका हुन् भने उनका प्रतिस्पर्धी तामाङले २०७ मत प्राप्त गरे ।
निवर्तमान उपसचिव रहेका आङ्ला र निवर्तमान सचिवालय सदस्य तामाङबिच नेतृत्वका लागि प्रतिस्पर्धा भएको थियो । दुवैजना प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका थिए । जहाँ अध्यक्षसहित सम्पूर्ण पदाधिकारीमा आङ्लाको प्यानल नै निर्वाचित भयो ।
उपाध्यक्षमा २९४ मतका साथ चिन्तन तामाङ विजयी भए भने उनका प्रतिस्पर्धी मनोज राईले २०९ मत प्राप्त गरे । सचिवमा २९६ मत प्राप्त गरी पर्शुराम नेपाल विजयी बने । उनले शेरबहादुर लिम्बूलाई एक सय मतले हराए । लिम्बूले १९६ मत मात्र प्राप्त गरेका थिए । उपसचिवमा नैन विश्वकर्मा २९३ मत प्राप्त गरी विजयी बनिन् भने उपसचिवमा तुलसी राई २६५ मतका साथ विजयी बनिन् ।
नेकपा (एमाले) धनकुटाको जिल्ला कमिटीको पाँचजना पदाधिकारीका लागि ११ जनाको उम्मेदवारी परेको थियो । जसमा उपसचिवमा उमेद्वारी दिएका केशरमान तुम्साले उमेद्वारी फिर्ता लिएका थिए । लेखा समितिका सात जनासहित ६१ जना सदस्य सर्वसम्मत चयन भएका थिए ।
पदाधिकारी र ३० जना सदस्यका लागि मतदान भएको हो । ३० सदस्यका लागि ५७ जनाको उमेदवारी परेको थियो । जेठ १२ गते शनिबारबाट सुरु भएको एमाले धनकुटाको आठौँ जिल्ला अधिवेशनले सहमतिबाट नेतृत्व चयन गर्न नसकेपछि १३ गते बेलुका ७ देखि ११ बजेसम्म मतदान भएको थियो । एमाले धनकुटाको अधिवेशनमा ५४४ जना मतदाता रहेकोमा ५३७ मत खसेको थियो । अधिवेशनबाट जिल्ला कमिटीमा कम्तीमा ३३ प्रतिशत महिला र १५ प्रतिशत युवा र अपाङ्ग, मजदुर, पेशागत, दलित तथा अल्पसंख्यक गरी १० प्रतिशत अनिवार्य सहभागी भएको एमाले धनकुटाले जनाएको छ ।