ब्यूटिसियनको व्यवसायीकता र सुन्दरताको महत्व

 भली सुब्बा

मानव जिवनमा सुन्दरता शब्दले धेरै नै ठूलो भूमिका खेलेको हुन्छ । हामी सबैलाई सुन्दर र आकर्षक देखिने चाहना हुन्छ । विशेष गरेर परापूर्वककालमा महिलाहरूले विभिन्न फुल, जडिबुटीहरुद्वारा आफूलाई श्रृङ्गार गर्ने प्रचलन रहेको थियो । कुनैपनि सौन्दर्य वस्तु वा प्राणी होस्, सुन्दरताले भरिएको छ भने हामी सबैलाई आकर्षित गर्छ । हामी मानिस चेतनशील प्राणी हो । सोही कारण हामीलाई धेरै सुन्दर र आकर्षक देखिने उत्साह बढी हुन्छ । भनिन्छ, ‘सुन्दरता आवश्यक छ । तर, तनको सुन्दर भन्दा मनको सुन्दर धेरै राम्रो हुन्छ ।’

सुन्दरतालाई दुई भागमा विभाजन गरिएको छ । भित्री सुन्दरता र बाहिरी सुन्दरता । भित्री सुन्दरताले तपाईको सोच, सकात्मक सोचाई, लगनशिलता धैर्यता, सहनशिलता, अनुशासन र तपाईको स्वास्थ्यलाई तपाईको गुणवान् व्यक्तित्वलाई बुझाउँछ । बाहिरी सुन्दरता केवल क्षणभरको लागि मात्र हो ।

सुन्दरताको परिभाषामा केही परिवर्तन पनि आएका छन् । अहिले केवल बाहिरी सुन्दरतालाई मात्र सुन्दर भनिँदैन आन्तरिक सुन्दरतालाई पनि उस्तै महत्व दिइन्छ । महिलाहरूमा हुने राम्रा गुणलाई सुन्दरतासँग गाँसेर परिभाषित गरिन्छ । बाहिरी सुन्दरता समयसँगै खस्केर जान्छ । तर, भित्री सुन्दरता समयसँगै अझ निखारिएर आउँछ । त्यसैले अहिले सौन्दर्य प्रतियोगिताहरूमा केवल बाहिरी सुन्दरतालाई मात्र प्राथमिकता दिइँदैन । तरपनि सुन्दरतालाई हेर्ने दृष्टिकोण फरक–फरक छ ।

अहिलेको यो २१ औं शताब्दीमा सबैलाई सुन्दर बन्न लगाव छ । त्यसकारण अहिले हाम्रो ब्यूटिसियन व्यवसाय लोकप्रिय हँुदै गएको छ । अधिकांश पढेलेखेका युवायुवतीको उद्देश्य हुन्छ, जागिर खाने । पढेलेखेका व्यक्ति प्रायः जागिरका लागि भौंतारिइरहेका हुन्छन् । अझ भन्ने हो भने, गैरसरकारी संस्थामा जागिर गर्नेको त लहर चलेको छ । तर, अहिलेको समयमा बेरोजगारको समस्या टड्कारो रुपमा देखिएको छ । त्यसमा पनि धेरै महिलाहरु त गृहिणीको रुपमा मात्र सीमित भएका छन् । एक हिसाबले भन्ने हो भने यो उनीहरुको बाध्यता पनि हो । किनभने अहिलेको जमानामा रोजगार त्यति सजिलै कहाँ पाइन्छ र ? तर, उद्यमशिल महिलाहरु भने विभिन्न घरेलु व्यवसाय तथा अन्य व्यवसायमा आकर्षित हुन थालेका छन् । तीमध्ये केही ब्यूटीपार्लर खोलेर आत्मनिर्भर बनेका छन् ।

एडभान्स टेक्नोलोजी भित्रिएको कारण र ब्यूटिपार्लर व्यवसायिक बन्दै गएपछि अध्ययनको पनि जरुरी रहेको छ । अहिले पढाइसँगै महिलाहरुको मुख्य रोजाईको विषयमा ‘ब्यूटीपार्लर’ व्यवसाय बन्दै गएको हो । महिलाहरुको आम्दानीको राम्रो श्रोत बन्ने गरेको भएतापनि अहिले अधिकांश ब्यूटीपार्लरहरु कानुनी प्रक्रिया गरी करको दायरामा पनि आउने थालेका छन् । ब्यूटीपार्लरहरु स्थानीय पालिकाहरुमा दर्ता भएर सरकारलाई कर तिरेर राष्ट्र निमार्णमा महत्वपूर्ण योगदान पनि पु¥याएका छन् ।

यस क्षेत्रमा नयाँ–नयाँ प्रविधिको विकासले गर्दा नयाँ एड्भान्स प्रोडक्सहरूको माग पनि बढर्दै गएको छ । पुरानो दिनहरूलाई सम्झने या फर्केर हेर्ने हो भने ब्यूटिसियन व्यवसाय गर्ने महिलाईहरुलाई हेर्ने दृष्टिकोण फरक थियो । अहिले हजारांै महिलाहरू ब्यूटिसियन पेशालाई अंगालेर स्वरोजगार भएका छन् । चुलोचौकामा रहने महिलाहरू ब्यूटिसियन पेशा अंगालेर आत्मनिर्भर भएका छन् । आफै सकक्षम भएर घरपरिवार मज्जासँग चलाएका छन् । कोशी प्रदेशको राजधानी रहेको शहर विराटनगरमा मात्र हजारौको संख्यामा ब्यूटीपार्लर रहेका छन् । जसमा करडौं रुपैयाँ लगानी छ भने हजारौको संख्याले रोजगारी पनि पाएको अवस्था छ । विराटनगरमा ब्यूटीपार्लर खोल्ने महिलाको संख्यामा निकै वृद्धि हुँदै गएको छ । ब्यूटीसियनहरु एकता बृद्ध पनि भएका छन् । पेशाको संरक्षण, क्षमति अभिवृद्धि र ब्यूटीसियनहरुको हकहितको लागि स्थापित संस्था पनि रहेको छ । अहिले राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल रहेको छ । यो संस्था देशभरीमै रहेको छ । राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल विराटनगर महानगरपालिकाभित्रका मात्र दुई सय बढी ब्यूटिसियनहरु आवद्ध रहेका छन् ।

सरकारद्वारा निःशुल्क खुलाएको सिटिभिटीमा परीक्षा दिएर व्युटीसियनहरु उत्तीर्ण भएका प्रशिक्षक भएकाले सयौं महिलाहरूलाई सिकाउँदै नयाँ ब्यूटिसियन उत्पादन पनि गर्दै आएका छन् । जसले गर्दा महिलाहरू आत्मनिर्भरको बाटोमा अग्रसर भएका छन् । ब्यूटिसियन पेशाले विकसित मुलुकहरुमा धेरै लोकप्रियता हासिल गरेको छ । ब्यूटिसिनय पेशाले लोकप्रियता पाएसँगै चुनौतिहरू पनि धेरै छन् । नयाँ प्रविधि, नयाँ प्रोडक्स आएसँगै ब्यूटिसिनयहरुले आफुलाई अपडेट गर्न पनि जरुरी रहेको छ । अहिले आधुनिक एड्भान्स नयाँ प्रविधिहरु भित्रिएको छ । नयाँ प्रविधिहरुबाट ब्यूटिसियनहरुले सेवा प्रदान गर्दै आएका छन् ।

(लेखक : राष्ट्रिय सौन्दर्यकर्मी यूनियन विराटनगर महानगरपालिकाकी अध्यक्ष हुन् ।)

सोमबार, १४ जेठ, २०८१

प्रतिक्रिया:

सम्बन्धित खवर


You cannot copy content of this page