विराटनगर । विराटनगर–६ स्थित म्यारिलिवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा सोमबारदेखि सुरु हुने टी –१० क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।
विराटनगर महानगरपालिका–६ को आयोजनामा हुने क्रिकेट प्रतियोगिता जेठ १९ गतेसम्म संचालन हुने छ ।प्रतियोगितामा नेपालका विभिन्न ७ टोलीले सहभागिता जनाउने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुने टोलीले नगद ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ । यस्तै दोस्रो हुने टीमले २ लाख, तेस्रो हुने टीमले एक लाख र चौथो हुने टीमले ५० रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजक विराटनगर महानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष हरिश्चन्द्र सहनीले जानकारी दिए ।
खेल दिवा र रात्रीकालीन समयमा संचालन हुने छ । वडाध्यक्ष सहनीले टी–१० च्याम्पियनसीप प्रतियोगिता पहिलो पटक संचालन हुन लागेकाले यसलाई सफल बनाउन सबैले सहयोग गर्नुपर्ने बताए । यस किसिमका प्रतियोगिताले विराटनगरको क्रिकेट क्षेत्र थप फराकिलो बन्दै जाने उनको विश्वास छ ।
अध्यक्ष सहनीका अनुसार अपरान्ह ३ बजेबाट राती पौने १०ः४५ बजेसम्म दिवारात्रीकालीन खेलहरु हुनेछन् । दैनिक चार वटा खेल हुने बताइएको छ । प्रतियोगितामा सहभागिता जनाउने टोलीले राष्ट्रियस्तरका खेलाडीसँग विदेशी चार जना खेलाडीलाई सहभागी गराउने सक्ने व्यवस्था छ । उनले क्रिकेटको नयाँ फम्र्याट अनुसरण गर्दै टि टेन क्रिकेट प्रतियोगिता सफल बनाउन समाजसेवी राजनीतिकर्मी र सञ्चारकर्मीहरुलाई आग्रह गरेका छन् । राउण्ड रोविन फरम्याटमा खेलहरु खेलाइने छ । प्रतियोगिताका लागि वडाले ७ लाख रुपैयाँ र सहयोगी दाताहरुले थप सहयोग गरेका छन् । प्रतियोगिता सञ्चालन गर्न झण्डै ४५ लाख रुपैयाँ खर्च हुने बताइएको छ ।