विराटनगर ।सरकारी कागज किर्ते गरेर अंशबण्डा गर्नुपर्ने जमिन एकलौटी बनाएको आरोपमा मोरङ रङ्गेली नगरपालिका–४ का ३१ वर्षीय राजकिशोर साह पक्राउ परेका छन् । प्रहरीले उनलाई आइतबार पक्राउ गरेको हो ।पक्राउ परेका साहलाई सरकारी कागजात किर्ते गरेको मुद्दामा अनुसन्धान गर्न म्याद थप गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।
अंशियारलाई एकलौटी पार्न सहयोग गरेको भन्दै वडाध्यक्ष अवदेश मण्डलसहित १३ जना विरुद्ध गत जेठ १ गते मोरङ प्रहरीमा उजुरी दर्ता भएको थियो । उक्त उजुरी दर्ता भएपछि मोरङ जिल्ला अदालतले वडाध्यक्ष मण्डलसहित १३ जना विरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । पक्राउ पूर्जी जारी भएपछि पनि वडाध्यक्ष मण्डल पक्राउ परेका छैनन् । उनी अहिले पनि रंगेलीमा रहेका छन् ।
रंगेली ४ आमतोलाका ७९ वर्षीय रामप्रसाद साहको नाममा रहेको जग्गा उनकी जेठी पत्नीका छोरालाई छलेर कान्छी पत्नीको नाममा ल्याउन रङ्गेली ४ का वडाध्यक्ष मण्डललाई आर्थिक प्रभावमा पारेर एकपक्षीय अंशियारका नाममा नामसार गरेको भन्दध्ै जेठी तर्फका छोरा वीरेन्द्र साहले उजुरी गरेका थिए ।
रामप्रसाद साहको नाममा साविक गाविस रंगेली वडा नं. ८ को नक्सा सिट नं. १७८०७१८ को किता नं. १५६ र १५७ रहेको २०५ र ३३८.६३ वर्ग मिटरको जग्गा जेठी पत्नी कलावतीका सन्तानलाई छलेर कान्छी पत्नी कौशीलाका छोरालाई मात्र अंशबण्डा गर्न सरकारी कागजपत्र किर्ते गरेको आरोप लागेको छ । सोही आरोप लगाउँदै प्रहरीमा उजुरी परेको हो । उक्त जग्गाको वर्तमान मूल्य झण्डै तीन करोड रुपैयाँ रहेको बताइएको छ ।
रामप्रसाद साहको ८ वैशाख २०७९ मा मृत्यु भएपछि कान्छी पत्नीका छोरा राजकिशोरले बाबुको १३ औं दिनको पुन्य तिथिका दिनमा मृृत्यु दर्ता बनाएको पाइएको छ । उनले बावुको मृत्यु भएपछि काजकिरिया सकिएकै दिन १३ दिनमा एकलौटी रुपमा आफूले मात्रै अंश लिने उद्देश्यले रंगेली ४ नं. वडा कार्यालयबाट २१ वैशाख २०७९ मा मृत्यु दर्ता बनाएको देखिन्छ । त्यसपछि जेठीपट्टीका छोरा वीरेन्द्रलाई २६ भदौ २०६५ मा ५० हजार रुपैयाँ अंश दिएको देखाएर कान्छी तर्फका छोरा राजकिशोरले बाबुको नाममा रहेको जग्गा आफ्नो नाममा ल्याउन सर्जमिन मुचुल्का बनाएका थिए ।
५ फागुन २०७९ मा एकल अंशियार देखाए राजकिशोरले सर्जमिन मुचुल्का उठाए । उक्त सर्जमिन मुचुल्कामा उपप्रमुखका पति गणेश निरौला, विनोदकुमार मण्डल, अनिल मण्डल, दिनेश मण्डल, अजय प्रसाद साह, धिरज कुमार मण्डल र प्रमानन्द मण्डलले हस्ताक्षर गरिदिए ।
त्यसपछि १७ साउन २०८० मा राजकिशोरको मन्जुरीमा उनी आमा कौशिलादेवी साहको नाममा मृत्यु भएको बाबु रामप्रसादको जग्गा र घर नामसारी गरिदिन मालपोत कार्यालय रंगेलीलाई वडाअध्यक्ष अभदेशकुमार मण्डलले सिफारिस बनाइदिए । वडाले दिएको उक्त सिफारिसको आधरमा मालपोत कार्यालय रंगेलीले १८ साउन २०८० मा कौशिलादेवी साहको नाममा जग्गा नामसारी गरेको देखिएको छ ।
बाबुको नाममा रहेको जग्गा एकलौटी रुपमा राजकिशोरले आफ्नी आमा कौसीदेविको नाममा ल्याएको १० महिनापछि मात्रै जेठीपटिका छोरा वीरेन्द्रकुमार साहले थाहा पाए । उक्त जग्गा बैंकमा राखेको थाहा पाएपछि मात्रै वीरेन्द्रले आफ्नो बावुको नाममा रहेको जग्गा अंशबन्डा नगरी कान्छी आमातर्फका छोरा राजकिशोरले जनप्रतिनिधि र बिचौलिया प्रयोग गरी एकलौटी आफ्नो नाममा ल्याएर गत वैशाखमा थाहा पाएका हुन् ।एकलौटी रुपमा बाबुको अंश कान्छीतर्फका छोराले मात्र लगेको सुनेपछि वीरेन्द्रले मालपोतमा बुझ्दा किर्ते भएको खुलेको थियो ।
त्यसपछि उनले वडाअध्यक्ष अवधेशकुमार मण्डलसहित १३ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा सरकारी कागजपत्र र छाप किर्ते मुद्दामा जाहेरी दर्ता १ जेठमा दर्ता गराएका थिए ।अंशीयारलाई एकलौटी पार्न सहयोग गर्ने र अहिले पक्राउ सूचीमा किर्तेमा सहभागी भएर साक्षी बसेका रंगेली नगरपालिकाका उपमेयर झुमा पराजुली (निरौला) का पति गणेश निरौला, मालपोत कार्यालय विराटनगरका तामेली फाँटका प्रमुख तुलसीराम चौधरी, मालपोत कार्यालय रंगेलीका मुद्दा फाँटका प्रमुख अर्जुन घिमिरे, लेखापढी व्यवसायी लोकनाथ निरौलासहित १३ जना छन् । जिल्ला अदालतले जेठ ९ गते उक्त आदेश जारी गरेको थियो ।