विराटनगर । मानगढ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा यतिबेला नयाँ कार्यसमिति निर्वाचित गर्नका लागि चुनावी सरगर्मी बढेको छ । यही जेठ १९ गते हुने निर्वाचनका लागि अध्यक्ष पदमा लालमणि भट्टराई, रामबहादुर घिमिरे र दुर्गा चापागाईले उम्मेदवारी दिएका छन् ।
अध्यक्ष पदका उम्मेदवार भट्टराईले चुनावी प्रचारलाई तीव्र बनाएका छन् । आक्रमक प्रचार गर्दै उनी घरदैलोमा व्यस्त छन् । उनले संस्थामा भएको भ्रष्टाचार विरुद्ध उभिने र २५ वर्षदेखि कायम रहँदै आएको एकल नेतृत्व परिवर्तन गर्ने विषयलाई प्रचारको एजेण्डा बनाएका छन् ।
युवा उद्यमी भट्टराईप्रति उपभोक्ताहरु आकर्षित देखिएका छन् भने भएका उम्मेदवारहरुमध्ये बढी भसोसा गरेको प्रचारमा सहभागी उपभोक्ताहरुले बताए ।
लामो समय संस्थाको नेतृत्व गरेका वर्तमान अध्यक्षको कार्यशैली स्वेच्छाचारी र हैकमवादी बन्दै गएको भन्दै उनका समर्थकहरुले उपभोक्ताहरुको भावना अनुसार काम नभएकोले नयाँ नेतृत्व अगाडि सार्नुपरेको टिप्पणी गरेका छन् ।
संस्थाका हिसाब पारदर्शी नरहेको, भ्रष्टाचार बढेको आदि आरोप लगाउँदै भट्टराई समूहले प्रचारलाई आक्रमक बनाउँदै लगको छ ।
उपभोक्ताहरुले नयाँ विचार बोकेको, उपभोक्ता मैत्री नेतृत्वको खोजी गरिरहेको बेलामा भट्टराईलाई त्यस्तो विकल्पको रुपमा अगाडि सारेको बताएका छन् ।
भट्टराईले आफू उपभोक्तामाझमा परिचित रहेको दावी गर्दै निर्वाचित भएपछि संस्थाको वास्तविक चित्र उपभोक्तामाझ सार्वजनिक गर्ने प्रतिबद्धता जनाइरहेका छन् ।
वैचारिक रुपमा नेकपा एमालेमा संगठित रहेका भट्टराईले पार्टीभन्दा माथि उठेर उम्मेदवारी दिएको र पार्टीका कार्यकर्ताहरुको पनि साथ पाएको बताएका छन् । भट्टराईलाई राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाली कांग्रेसका एउटा पक्ष, एमालेका कार्यकर्तापंक्तिहरुको सद्भाव र सहयोग रहेको बताइएको छ ।
अध्यक्ष पदका उम्मेदवारहरुमध्ये घिमिरे र भट्टराई नेकपा एमालेमा आवद्ध नेताहरु हुन् भने चापागाईं नेपाली कांग्रेससँग निकट छन् । नेकपा एमालेले संस्थागतरुपमा घिमिरेलाई सहयोग गर्ने निर्णय गरी कार्यकर्ताहरुलाई निर्देशन दिएको छ भने चुनावी परिणाम आफ्नो पक्षमा ल्याउन नेकपा माओवादी केन्द्रसँग गठबन्धन नै बनाएको छ । तर, एमालेभित्रै अध्यक्ष पदका लागि दुई जना उम्मेदवार बनेपछि खानेपानीको चुनावी माहोल रोचक बनेको छ । पछिल्ला दिनमा भट्टराई पक्षको प्रचारप्रसार आक्रमक बन्दै गएको छ भने घिमिरेको समूहले पनि प्रचारलाई बिस्तारै तीव्रता दिइरहेको छ । उता दुर्गा चापागाईंको पक्षमा पनि उपभोक्ताहरुको सहानुभूति देखिएको छ ।
विराटनगर महानगरपालिकाको वडा नम्बर १, ३, १९ र ४ तथा , बुढीगंगा १ र ३ मा खानेपानी सेवा प्रदान गर्दै आइरहेको मानगढका ५ हजार ९८८ घरधुरी उपभोक्ता छन् ।