कोशी अस्पतालको माटो बाहिर लैजान महानगरको रोक

विराटनगर । जथाभावी माटो ढुवानी गरी सडक फोहर बनाएपछि विराटनगर महागनरपालिकाले कोशी अस्पताल परिसरबाट माटो बाहिर लैजान रोक लगाएको छ ।
ठेकेदार कम्पनीले लापरवाही ढंगले ढुवानी गर्दा सडक धूलाम्मे भएको र त्यसले सहरी वातावरण प्रदूषित गरेको भन्दै ठेकेदार कम्पनीले गर्दै आएको ढुवानीका गाडीहरु सञ्चालनमा रोक लगाएको हो ।

ठेकेदार कम्पनीले माटो व्यवस्थापनमा ध्यान नदिएको आरोप लगाउँदै बिहीबार सबै माटो बोक्ने गाडीहरु रोकिदिएको थियो ।महानगरपालिकाको सरसफाइ शाखाले पत्र पठाएर तत्कालका लागि ढुवानी बन्द गर्न निर्देशन दिएको छ । महागनरले कन्स्ट्रकसन एरियाबाट बाहिरिने हरेक गाडीले चक्कामा लागेको माटो सफा गरेको हुनुपर्ने, माटो पोखिएको सडकमा हरेक दिन बिहान ८ बजेभित्र सफा गरी पानीले पखाल्नु पर्ने, नालामा पसेको हिलो सफा गर्न र माटो बोक्ने सवारीको रुट र समय निर्धारण गर्ने शर्त पूरा गर्न भनेको छ ।

सरसफाइ शाखाका प्रमुख पुनम दाहालले कालोपत्रे सडकमा निरन्तर माटो ढुवानी गर्दा पोखिएको माटोले सहरमा धूलो बढेको र पटक पटक महानगरले सफा गर्न नसक्ने बताएका छन् । उनले एक पटक महानगरले धूलो सफा गरेपनि पटक पटक कन्स्ट्रक्सन कम्पनीले गरेको फोहोर सफा गर्न नसक्ने भएकोले तत्कालका लागि गाडी चलाउन रोक लगाएको बताए ।

कोशी अस्पतालको नयाँ सात तले भवन निर्माणाधीन अवस्थामा छ । अस्पतालको फाउण्डेसन तयार पर्न माटो खन्ने काम जारी रहेको र त्यहाँबाट निस्किएको माट सहरका विभिन्न भागमा व्यवस्थापन गर्ने, अनधिकृतरुपमा बिक्री गर्ने आदि काम ठेकेदार कम्पनीले गर्दै आएको छ । त्यसले विराटनगरका चारैतिरका सडकमा धूलोको मात्रा बढाइदिएको भन्दै महानगरले स्थानीयको विरोधको सामना पनि गरिरहेको छ ।

 

शुक्रबार, ०४ जेठ, २०८१, बिहानको ०७:३७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर