विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि –२० क्रिकेट प्रतियोगितामा विराटनगरको एनबीएससी क्रिकेट क्लब सेमिफाइनलमा पुगेको छ । विराटनगर जुट मिलको खेलमैदानमा बिहीबार भएको पहिलो क्वाटरफाइनल खेलमा जोगवनीको प्रशान्त क्रिकेट क्लबलाई १३४ रनले हराउँदै विराटनगर सेमिफाइनलमा पुगेको हो ।
विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाई २०२ रन बनाएको हो । विराटनगरका अनुभव श्रीवास्तव र राहुल चौधरीले अर्धसतक पूरा गरे । अनुभवले ४१ बलमा ६ छक्का र ६ चौका हिर्काउँदै ६६ रन बनाए । राहुलले ३१ बलमा ५ छक्का र ६ चौका हिर्काउँदै ६० रन बनाए । राहुल प्लेर अफ द म्याच घोषित भए । त्यसैगरी कुनल किशोरले २९ रन पारी खेल्दा रिसप रन्जनले २४ रनको योगदान दिए । जोगवनीका आशिक राजाले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट र उत्तम यादवले २ विकेट लिए ।
विराटनगरले दिएको २०३ रनको विशाल छक्ष्य पछ्याएको जोगवनीले १३.३ ओभरमा सबै विकेट गुमाइ ६९ रन मात्रै बनाउन सक्यो । जोगवनीका राजा बाबुले ९ बलमा २४ रन बनाउँदा उत्तम यादवले १७ रन जोड । जोगवनीका अन्य ब्याटमेनले दोहोरो अंक ल्याउन सकेनन् ।
विराटनगरका खेलाडी अदित्य झा र राहुलले कसिलो बलिङ गरे । अदित्यले ४ ओभरमा १३ रन खर्चेर ४ विकेट र राहुलले ४ ओभरमा १९ रन खर्चेर ४ विकेट लिए ।
अहिले दोस्रो क्वाटर फाइनल खेल होराइन क्रिकेट क्लब विराटनगर र पटनाबीच भइरहेको छ । शुक्रबार पहिलो खेल वाइआरससी क्रिकेट क्लब विराटनगर र सुनसरी क्रिकेट क्बल तथा सोही दिन दोस्रो खेल दिल्ली र कटियार क्रिकेट क्लब बिच हुने खेल तालिका छ ।