चौथो मिल्स गोल्ड कप : डिफेन्डिङ च्याम्पियन गोल बजारलाई हराउँदै प्रहरी सेमिफाइनलमा

विराटनगर । टाई ब्रेकरबाट जित निकाल्दै कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगर चौथो संस्करणको मिल्स गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

विराटनगरको जुट मिलको खेलमैदानमा सोमबार सम्पन्न भएको अन्तिम क्वाटर फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन गोल बजार स्पोर्टिङ क्लब सिराहालाई टाई ब्रेकरमा ४–३ गोलले हराउँदै प्रहरी सेमिफाइनलमा पुगेको हो ।जितसँगै प्रहरीले फाइनल प्रवेशको लागि बिहीबार घरेलु टिम पेमा युवा क्लब विराटनगरसँग खेल्नेछ ।

निर्धारित समयसम्म २–२ गोलको बराबरी भएपछि टाई ब्रेकरबाट जितेको छिनोफानो भएको हो । जितको लागि टाई ब्रेकरमा प्रहरीको तर्फबाट उज्ज्वल राई, सन्देश विक, विवेक राई र सुमति प्रधानले गोल गरेका थिए ।

गोल बजारको तर्फबाट विनोद राई र निर्जल मुक्ताङ्गले मात्र गोल गरे । गौरव श्रेष्ठ र मीन धिमालको प्रहार प्रहरीका गोलकिपर पुरन राईले उत्कृष्ट बचाए । टाई ब्रेकरमा दुई गोल सेभ गर्ने प्रहरीका पुरन खेलको प्लेयर अफ म्याच घोषित भए । उनले नगद तीन हजार रुपैयाँ कार्यक्रमको प्रमुख अतिथि विराटनगर १० नम्बर वडा कार्यालयका वडाध्यक्ष अर्जुन गिरीले वितरण गरे ।

अन्तिम क्वाटर फाइनल खेलमा पहिलो हाफमा गोल बजार स्पोर्टिङ क्लब सिराहाले अग्रता लिएको थियो । खेल सुरु भएको १२ औँ मिनेटमा निशान्त लिम्बुले गोल गरी टिमलाई अग्रता दिलाए । डिबक्स भित्र सन्दीप लिम्बुले निकालिदिएको पासलाई गोल बजारका निशान्तले आकर्षक गोल गरे । दोस्रो हाफदेखि प्रहरीले आक्रामक खेल खेल्दै ४४ औँ मिनेटमा रमेश राजवंशीले गोल गरी खेल १–१ गोलको बराबरीमा ल्याए । अभिषेक आले मगरले निकालेको पासलाई रमेशले गोल गरे । खेल सकिन दुई मिनेट बाँकी रहँदा गोल बजारका सिनोद राईले गोल गरी अग्रता दोब्बर बनाए । तर, गोल बजारले दोस्रो गोल गरेको एक मिनेट बित्न नपाउँदै प्रहरीको तर्फबाट विवेक राईले गोल गरी खेल २–२ गोलको बराबरीमा ल्याए ।

खेलको अन्तिममा गोल बजारका खेलाडी समालिन नसक्दा चौथो संस्करणको मिल्स गोल्ड कपको उपाधि जित्ने सपना चकनाचुर भयो ।
बुधवार हुने पहिलो सेमिफाइनल खेल सशस्त्र प्रहरी बल (एपीएफ ) पकली सुनसरी र कनकाई स्पोर्टिङ क्लब सुरुङगा झापाबिच हुनेछ ।

वैशाख १५ गते हुने फाइनलमा कोशी प्रदेशका ‘ए’ डिभिजनका ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २ लाख ११ हजार १ सय र उपबिजेताले १ लाख ११ हजार १ सय रुपैयाँ पुरस्कार प्राप्त गर्ने मिल्स गोल्ड कप फुटबल टष्टका अध्यक्ष विष्णु डङ्गोलले जानकारी दिए ।

सोमबार, १० बैशाख, २०८१, साँझको ०७:३७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर