विराटनगर । दोस्रो टी–२० क्रिकेटमा नेपालले आयरल्यान्ड ‘ए’ लाई जितका लागि १९९ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा टस जितेर ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर १९८ रन बनाएको हो ।
नेपालका लागि गुलसन झाले ४६ रनको योगदान गरे भने कुशल मल्लले ३४ र कप्तान रोहित पौडेलले ३३ रन बनाए । ओपनर कुशल भुर्तेलले टोलीको खातामा २५ रन थपे । अनिल साह १२ र ओपनर आसिफ शेख ११ रनमा आउट भए भने सन्दीप जोराले २१ रन बनाए ।
विवेक यादव ७ रनमा अविजित रहे । नेपालले अतिरिक्त रूपमा ९ रन पाएको थियो ।
आयरल्यान्ड ‘ए’ का बलर म्याथ्यु फोष्टरले तीन विकेट लिए भने बेन ह्वाइटले दुई विकेट हात पारे । गाभिन होए र फियोन ह्यान्डले पनि एक–एक विकेट हात पारे ।
नेपालले पहिलो विकेटका रूपमा ओपनर आसिफ शेखलाई गुमाएको थियो । विकेटकिपर ब्याट्सम्यान असिफ ९ बलमा एक छक्का र एक चौकाको मद्दतले ११ रन बनाउँदै आउट भएका थिए ।