विराटनगर । हत्या भएको अवस्थामा शुक्रबार शव भेटिएको २२ वर्षीया चन्द्रिका कुमारी दास बसेको घर नोबेल अस्पतालदेखि करिब एक सय मिटर उत्तरमा दुई तलाको रहेको छ । उनी दोस्रो तलाको कोठामा बस्दै आएकी थिइन् ।

दोस्रो फ्लाइटमा चार जना  नर्स बस्दै आएका छन् । उनीहरू सबै जना नोबेलमा कार्यरत छन् । तीमध्ये चौधरी थरकी एकजना साथीको ह्वाट्सएपमा  रगत लतपतिएको दासको फोटो नयाँ नम्बरबाट आएको छ । ‘मैले हत्या गरेर शौचालयमा छाडिदिएको छु’ भन्दै म्यासेज गरेर फोटाहरु पठाएको पाइएको प्रहरी स्रोतले बतायो । घटनाको अनुसन्धान गरिरहेकोले प्रहरीले कुन नम्बरबाट वाट्सएप गरेभन्ने खुलाएको छैन ।

ह्वाट्सएपमा म्यासेज आएपछि मृतककी साथीले डा. गिरीको घरमा सुरूमा बस्ने साथीलाई सुनाइन् । मुडियारी थरकी ती साथीले त्यसपछि घरधनीलाई  जानकारी गराएकी थिइन् । घरधनीले प्रहरीलाई खबर गरे । प्रहरी पुगेर हेर्दा हत्या गरेको अवस्थामा शव भेटिएको छ । घरधनी भने उक्त घरमै बस्दैनन् । डेरा लगाएर बाहिर बस्दै आएका छन् ।

मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्की घटनाको सुष्म तरिकाले अनुसन्धान भइरहेको बताए । ‘प्रविधि प्रयोग गरेर घटनालाई अर्कोतर्फ मोड्न खोजेको पनि हुनसक्छ । एकातिर देखाएर घटना अर्कैले गरेको समेत हुनसक्छ,’ उनले भने, ‘यस्तो जघन्य अपराधको गम्भीर ढंगले अनुसन्धान हुन्छ। जतिसक्दो चाँडो वास्तविकता पत्ता लगाउँछौं।’