विराटनगर । विराटनगर १८ मटेरूवा घर भएका मिटरब्याजी ५३ वर्षीय सुनिल साहलाई कारवाही गर्न पीडितहरुले दबाब बढाएका छन् । मिटरब्याजी साहबाट पीडित भएका विराटनगर १८ का दिमादिगी र लावघाटका सर्वसाधरणहरुले बुधबार मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईलाई भेटेर तत्काल पक्राउ गरी कारवाही गर्न दबाब दिएका हुन् ।

पीडितहरुको समूहले मिटरब्याजी साहलाई कारवाहीको माग राख्दै उजुरी दिएको तीन साता भइसक्दा पनि कुनै कारवाही नभएपछि प्रजिअ भट्टराईलाई भेटेर उनीहरुले गुनासो गरे । मिटरब्याजी साहलाई पक्राउ गरी कारवाही नगरे उनीहरुले आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

अहिलेसम्म प्रशासनबाट पनि कुनै पहल नहुँदा न्याय पाउने आश हराउँदै गएको विराटनगर १८ का रमानन्द मण्डलले बताए । ‘उजुरी दर्ता भएको तीन हप्ता हुन लागिसक्यो । बुधबार प्रशासनमा आएर बुभ्mदा घटनाको अनुसन्धान भइरहेको छ । फेरि तपाईँहरुलाई बोलाउँछौं । अहिलेलाई जानु भनेर पठाउने गरेको छ । अहिलेसम्म मिटरब्याजीलाई ल्याएर छलफल पनि गराएको छैन । महानगरपालिकाबाट कानुनी साहयता लिएर प्रशासनसम्म उजुरी दियौं । अहिलेसम्म कुनै परिणाम देखिएको छैन,’ पीडित मण्डलले भने, ‘न्याय नपाए मिटरब्याजबाट पीडित भएकाहरू आन्दोलनमा उत्रिन्छौं ।’

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले उजुरी दर्ता भएकोले घटनाको अनुसन्धान भइरहेको बताए । ‘उजुरी आएपछि दर्ता भएको छ । बयान गर्ने तयारीमा छौं । हामीले पीडकलाई यहाँ उपस्थित गराउन आदेश गरिसकेका छौं, ’ उनले भने ।

प्रशासनले यस्तो आदेश गरे पनि सुनिल साह भने अहिलेसम्म उपस्थित भएका छैनन् । उनी अहिले गाउँमै नभएको पीडितहरूले जानकारी दिए । फोन स्वीच अफ गरेर उनी सम्पर्कविहीन बनेकोबारे प्रशासनले केही खुलाएको छैन ।

‘आवश्यक परे प्रहरीसँग समन्वय गरेर उनलाई हामी उपस्थित गराउने तयारीमा छौं,’ प्रमुख जिल्ला अधिकारी भट्टराईले भने ‘हामी यो घटनाको निरन्तर फलोअपमै छौं ।’
साहबाट पीडित भएकाहरू विराटनगर १८ दमादिगीका ४८ वर्षीय दिलीपकुमार अमात, सोही ठाउँका ६८ वर्षीय महेशलाल मण्डल, विराटनगर १८ लावघाटकी ४५ वर्षीय मिनादेवी मण्डल, ४५ वर्षीय रमानन्द मण्डल, ४५ वर्षीय खिकिरीदेवी साह, ४७ वर्षीय नारयण साह, अरुण मण्डलले मिटरब्याजी साहविरुद्ध उजुरी दिएको छन् । पीडितहरुले जग्गा फिर्ता गरी मिटरब्याजमा ऋण दिएर गरिबलाई उठिबास लगाउने काम गरेको भन्दै कारवाही गर्न माग गरेका हुन् । उनीहरुले प्रशासनमा ११ फागुनमा उजुरी दर्ता गराएका थिए ।

मिटरब्याजी साहले ऋण दिएको रकम समयमै नदिएको भन्दै दिलिपकुमार महतको १० कठ्ठा जग्गा बिक्री गरिदिएका छन् । दिलिपले चार वर्ष अगाडि ६ लाख रुपैयाँ ऋण लिएका थिए । ‘६ लाख ऋण लिएकोमा मैले तीन लाख रुपैयाँ बुझाएको थिएँ तर ढिलो कर्जा तिरेको भन्दै विराटनगर १८ मा रहेको किता नं. ३१७ र ३१६ को १० कठ्ठा जग्गा फिर्ता नगरी अरुलाई नै बेचिदिए । अहिले २२ लाख रुपैयाँ बुझाए मात्र जग्गा फिर्ता दिने भनिरहेको छ ।’

यसैगरी रमानन्द मण्डलले ४ कठ्ठा जग्गा सुनिलसँग धितो राखेर ६ वर्ष अगाडि २ लाख रुपैयाँ लिए । उनले १ लाख ८० हजार सुनिललाई साँवा र ब्याज तिर्दैछन् । उनलाई अझै सुनिलले ८ लाख बुझाएमात्रै ४ कठ्ठा जग्गा फिर्ता दिने बताउने गरेका छन् ।

यस्तै नारायण साहले तीन वर्ष अगाडि ७ लाख ऋण लिएका थिए ऋणपान गरेर २१ लख ७ हजार रुपैया तिरेपछि उनले ६ कठ्ठा जग्गा फिर्ता दिए । अहिले आमा लक्ष्मीदेवी साहको जग्गा फिर्ता लिने प्रयत्नमा उनी लागेका छन् ।

नारयणकी ६५ वर्षीया आमाले १७ धुर जग्गा राखेर सुनिलले १ लाख २५ हजार रुपैयाँ ऋण दिएका रहेछन् । लक्ष्मीदेविले अहिलेसम्म ५५ हजार रुपैयाँ बुझाइसन् ितर सनुलिन अरु ४ लाख ५० हजार रुपैयाँ दिनुपर्ने हिसाब लगाइरहेको छ । त्यति रकम नदिए जग्गा फिर्ता दिन्न भनेपछि लक्ष्मीदेवी चिन्तामा छन् ।

यस्तै विराटनगर महेशलाल मण्डलले सुनिलसँग २०६८ सालमा चार कठ्ठा जग्गा धितो राखेर १ लाख ६० हजार रुपैयाँ लिए । उनले ४ लाख ७० हजार रुपैयाँ तिरीसके । अझै १९ लाख ९३ हजार रुपैयाँ बुझाएपछि मात्र जग्गा फिर्ता दिने भन्दै आएका छन् । यस्तै खिकिरीदेवी साहले ५ कठ्ठा जग्गा राखेर ७० हजार लिइन् । उनले २ लाख ५० हजार दिइन् । साहले अझै १९ लाख दिएमात्र जग्गा फिर्ता दिने बताउँदै आएका छन् ।