सीएनआईले महिला उद्यमशीलता सम्बन्धी प्रदर्शनी गर्ने

विराटनगर । नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेश समितिले विराटनगरमा महिला उद्यमशीलता सम्बन्धी प्रदर्शनी गर्ने भएको छ ।
परिसंघको कोशी प्रदेश महिला उद्यम समितिले चैत २३ र २४ गते प्रदर्शनी गर्ने भएको हो ।

‘सीएनआई कोशी वुमन एक्स्पो’ नाम दिइएको प्रदर्शनीमा ६० वटा स्टल रहने समितिकी संयोजक रचना राठीले जानकारी दिएकी छन् । उनका अनुसार विराटनगरको अतिथि सदनमा हुने एक्स्पोमा पाँचथर, इलाम, ताप्लेजुङ, भोजपुर, संखुवासभा, तेह्रथुम र सोलुखुम्बु जस्ता पहाडी र हिमाली क्षेत्रका महिला उद्यमीले उत्पादन गरेका तयारी कपडा, विभिन्न खाद्य र पेय पदार्थ, श्रृंगारका सामग्री, खेलौना लगायत वस्तु राखिनेछ ।

एक्स्पोमा निम्न वर्गका, दलित समुदायका र एकल महिला उद्यमीलाई स्टल राख्न प्रोत्साहन गरिने राठीले बताएकी छन् । व्यवस्थापनका लागि भन्दै एक स्टलको शुल्क १० हजार रुपैयाँ तोकिएको छ । कमजोर अवस्थाका उद्यमीलाई छुटको व्यवस्था रहेको आयोजकले जनाएको छ ।

सीएनआई कोशी प्रदेशका अध्यक्ष पवनकुमार शारडाले एक्स्पोबाट वस्तु तथा सेवाको प्रवद्र्धन भइ महिला उद्यमीलाई हौसला मिल्ने विश्वास व्यक्त गरेका छन् ।

शुक्रबार, ०२ चैत, २०८०, बिहानको ०७:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर