विराटनगर । झापामा हजुरआमाको हत्या अभियोगमा नातिसहित चारजना पक्राउ परेका छन् ।झापाको गौरादहमा ८२ वर्षीया हजुरआमा नरमाया विकको हत्या गरेको आरोपमा नाति सहित ४ जना पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा गौरादह नगरपालिका–७ का १७ वर्षीय धीरज विश्वकर्मासहित उनका साथी टङ्क दर्नाल, राजु मल्लिक र बहादुर दर्जीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मिलन केसीले बताए ।

उनका अनुसार फागुन २५ गते राति हजुरआमा नरमायाले पैसा नदिएको निहुँमा लागुऔषध सेवन गरेका नाति धीरजले अन्धाधुन्द रड प्रहार गरेका थिए ।

रड प्रहारबाट ज्यान गुमाएकी हजुरआमालाई नाति धीरजसहित चारै जनाले मिलेर घर नजिकैको ग्वालीमा शव गाडेका थिए । पक्राउ परेका अभियुक्त धीरजले प्रहरीसमक्ष हजुरआमाको हत्या स्वीकार गरिसकेको प्रहरीले जनाएको छ ।

पाँच दिनदेखि आमा हराइरहेको भन्दै मृतकका छोरा रमेशले बुधवार बिहान इलाका प्रहरी कार्यालय गौरादहमा उजुरी दिएका थिए । उजुरीलगत्तै अनुसन्धानका क्रममा शवसहित चारै जनालाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक केसीले जानकारी दिए