इटहरी । समाचार सङ्कलन गर्न इटहरी उप महानगरपालिका परिसरमा पुगेका पत्रकार कृष्ण बहावको नगर प्रहरीले मोबाइल खोस्दै दुर्व्यवहार गरेका छन् ।

सिटी सफारी चालकहरूले गरेको आन्दोलनको फोटो तथा भिडियो खिच्ने क्रममा नगर प्रहरीले पत्रकार बहाबको क्यामरा खोस्दै दुर्व्यवहार गरेका हुन् । पत्रकार भनेर परिचय पत्र देखाउँदा पनि नगर प्रहरीले हातपात गरेको उनले बताए ।

यसैबिच पत्रकार बहाव माथि भएको दुर्व्यवहार र हातपातको नेपाल पत्रकार महासङ्घ सुनसरीले विरोध गरेको छ । नेपाल पत्रकार महासङ्घ सुनसरीका सचिव ध्रुव ढकालले विज्ञप्ति जारी गर्दै उक्त घटनाका दोषीलाई पक्राउ गरी तत्काल कानुनी कारबाही गर्न माग गरेका छन् ।

जारी विज्ञप्तिमा प्रेसको संवैधानिक अधिकारको सम्मान गरी निर्बाध र भयरहित काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गरेका छन् । विज्ञप्तिमा रिपोर्टिङ गर्ने सिलसिलामा इटहरी उपमहानगरपालिकाको गेटै अगाडी नगर प्रहरीहरूबाट मोबाइलसमेत खोसेर दुर्व्यवहार गरेको घटनाप्रति नेपाल पत्रकार महासङ्घ सुनसरीको गम्भीर ध्यानाकर्षण भएको
उल्लेख छ ।