विराटनगर । उदयपुरको बेलका ७ बाखाकुवा भन्ने स्थानमा भएको बोलेरो जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ७ पुगेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दिलकुमार राईका अनुसार मृत्यु हुनेमा सवारी चालक मानबहादुर बस्नेतको सनाखत भएको छ ।
अन्य १ जना ६–७ महिनाको बच्चासहित ४ जना महिला र २ जना पुरुषको मृत्यु भएको हो । उनीहरुको सनाखत भने हुन सकेको छैन । प्रहरीले अन्य ८ जना घाइतेको उद्धार गरी उपचारका लागि पठाएको जनाएको छ । घटनास्थलमा प्रहरीको टोलीले उद्धार कार्य जारी राखेको छ ।
स्थानीय मिलन सुभाराले आफूले जीवनकामलमै यत्रो ठूलो दुर्घटना नदेखेको बताए । ‘पहिलो पटक यत्रो ठूलो दुर्घटना देखें । धेरै दुःखद अवस्था देखियो । यहाँको अवस्था धेरै नराम्रो छ,’ उनले भने ।
उनले आफू पनि उद्धारमा खटिरहेको जानकारी दिए । ‘म अहिले घटनास्थलमै छु । उद्धार गरेर हामीले उपचारका लागि पठाएका छौं । ७ जनाको मृत्यु भएको देखियो । सवारी चालकको मृत्यु भएको देखियो । बोलेरोका सहचालकहरुले भने अनुसार १६ जना सवार थिए,’ उनले भने, ‘बाटो एकदमै ओरोलो र घुम्ति छ । सानो सानो टर्निङबाट बोलेरो झरेको देखियो । लोड बेंसी भएको पनि हुनसक्छ । १०–१२ जना क्षमताको बोलेरोमा १६ जना चढाएको रहेछ ।’
उनले गाडी एक्कासी आफैं पल्टिएको प्रत्यक्षदर्शीले बताएको जानकारी दिए । ‘त्यहाँ अरु कुनै पनि गाडी थिएन । डिस्टर्ब पनि भएको थिएन । एक्लै गुडिरहेको गाडी एक्कासी पल्टिएको स्थानीय बताउनु भएको छ,’ सुभाराले भने, ‘गाडीले बल्ड्याङ खाँदा दुईवटा घुम्तीको सडक पार गरेर झण्डै ६ सय मिटर तल जङ्गलमा गाडी झरेको देखियो ।’ धरानबाट भोजपुरका लागि छुटेको बोलेरो दुर्घटना भएको हो । को १ ज २५९३ नम्बरको बोलेरो बिहान साढे १० बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेको सनाखत हुन सकेको छैन । ओरालो सडकमा ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । यद्यपि दुर्घटनाको कारण खुलेको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

