विराटनगर । विराटनगर महानगरपालिका–८ हरिहर चौक पूर्वतर्फ रहेको १२ बिघा जग्गा खरिद–बिक्री कारोबारका लागि भएको सम्झौता उल्लंघन गरी जग्गा नदिएपछि हाउजिङ कम्पनी समस्यामा परेको छ ।  विराटनगरका केशवप्रसाद नामले चिनिने विश्वप्रसाद कोइराला र उनको परिवारको नाममा रहेको १२ बिघा जग्गा खरिद गर्न कम्पनीले बैना बापत ७ करोड ५० लाख रुपैयाँ दिएको भएपनि सम्झौताअनुसार जग्गाधनीले जग्गा नदिएपछि नवयुग हाउजिङ्ग कम्पनी लि. समस्यामा परेको हो ।

नवयुग हाउजिङ्ग कम्पनीका संचालक नवराज पोखरेलले विराटनगरमा मंगलबार पत्रकार सम्मेलन गरी कोइराला परिवारले बैना लिएपछि सम्झौता अनुसार जग्गा उपलब्ध नगराउँदा आफू नराम्रोसँग फसेको गुनासो गरे ।साविक विराटनगर–६ को कित्ता नम्बर २६२, २६३, २६४, २६८, २६१, २६०, ३३५०, २९७७, २९७८, ३३४९, ३१०, २५० मा २४० कठ्ठा जग्गाको स्वामित्व रहेको विश्वप्रसाद कोइराला परिवारले कारोबारमा बेइमानी गरेको हाउजिङ कम्पनीका संचालक पोखरेलको आरोप छ । केशवसहित छोरीहरु निकिता, निविता र निलु कोइरालाको नाममा रहेको जग्गा २०७५ पुस १ गते विराटनगर–८ का नवराज पोरखेलले प्रतिकठ्ठा २५ लाख रुपैयाँका दरले बैना गरेका थिए । तत्कालीन वडा कार्यालयका अध्यक्ष निश्चल अर्यालको रोहबरमा पोखरेलको नवयुग हाउजिङ्ग कम्पनी लिमिटेडले बैना गरेर सम्झौता अनुसार प्लानिङ गरेका थिए । तर, २०७५ पछि २०८० सालसम्मसमेत कोइराला परिवारले जग्गाको स्वामित्व हस्तान्तरण गर्न नचाहेपछि हाउजिङ कम्पनीका संचालक पोखरेल अहिले समस्यामा परेका हुन् । ‘कोइराला परिवारसँग सम्झौता भएपछि मैले पनि धमाधम प्लटिङ गर्दै जग्गाहरु बिक्री गर्ने तयारी गरें । तीन दर्जन बढिसँग जग्गा बिक्री गर्ने भनेर बैना पनि लिएको छु । अहिले आएर कोइराला परिवारले सम्झौताअनुसार जग्गा पास गरिदिँदैन । रोकिदिएर राखेको छ,’ हाउजिङ कम्पनीका संचालक पोखरेलले भने, ‘जग्गा पास नगरिदिएपछि मैले पनि बैना लिएको मान्छेलाई जग्गा दिन सकेको छैन र ठूलो समस्यामा परेको छु ।’

सम्भौता अनुसार पोखरेलको कम्पनीले टंक पोखरेललाई जग्गामा बाटो बनाउने, बिजुलीको पोल राख्ने आदि काम गर्ने जिम्मा दिएका थिए । जग्गामा संरचना निर्माण गरेका पोखरेलले २ करोड ९८ लाख ९० हजार रुपैँया पूर्वाधार निर्माणमा खर्च गरेका थिए । उनले हालसम्म दुई करोड रुपैँया पोखरेलसँग भुक्तानी लिन बाँकी रहेको गुनासो गरे ।

कोइरालाको जग्गामा मोहियानी हक पनि थियो । मोहीहरुलाई प्रतिबिघा पाँच कठ्ठा दिनेगरी कारोबारी पोरखेलले सहमत गराएका थिए । उक्त सहमतिपछि जग्गामा कुनै पनि किचलो नरहेको भन्दै कोइराला परिवारले कारोबारी पोखरेलसँग सम्झौता गरेका थिए ।

सम्झौता अनुसार प्रतिकठ्ठा २५ लाख रुपैयाँका दरले सबै जग्गा पोखरेलको नवयुग हाउजिङ कम्पनीले प्लानिङ गरेर बिक्री गर्ने उल्लेख थियो । जस अनुसार पोखरेलले ७ करोड ५० लाख रुपैयाँ कोइराला परिवारलाई भुक्तानी गरिसकेको छ । भुक्तानी भएको उक्त रकममध्ये गतवर्ष ११ कठ्ठा १६ धुर जग्गा कोइराला परिवारले पोखरेलको कम्पनीलाई पास गरिदिए । सम्झौता अनुसार त्यो २ करोड ५० लाख मूल्य बराबरको जग्गा मात्रै हो । लगानी गरेको पाँच करोड बराबरको जग्गा पास गरिदिन आनाकानी गरेपछि पोखरेल बैना लिएका व्यक्तिको दबाबमा फसेको बताउँछन् ।

पोरखेलले प्लानिङ गरेको जग्गामा २५ जनाले बैना गरेका छन् । बैना गरेकाहरुलाई जग्गा उपलब्ध गराउन असजिलो भएको भन्दै उनले कारोबारमा झेल हुँदा आफू नराम्रोसँग फसेको बताए । पोरखेलले प्लानिङ गरेको जग्गामा दिपकराज विष्ट र संजीव विष्टले ७५ लाख रुपैँया बैना बुझाएका थिए । विष्टले आफ्नो पैसा डुबेको हेरेर बस्नु बाहेकको विकल्प आफूहरुसँग नरहेको बताए । उनले जग्गाको पहिलो कारोबारमा भएको सम्झौता कार्यन्वयन नहुँदा धेरैको रकम डुबेको बताए ।
कोइरालाहरुको नाममा रहेको जग्गा प्लानिङ गर्नु अगाडि चौर मात्रै थियो । जग्गामा मोहियानी हक लाग्ने भएपछि उनीहरु त्यसै बसेका थिए । कोइराला परिवारका भान्जा दिपककुमार ढुंगेलले पोखरेललाई मोहीयानी हक भएका व्यक्तिहरुलाई मिलाएर जग्गा प्लानिङ गर्ने जिम्मेवारी दिएका थिए ।

कोइराला परिवार र कारोबारी पोरखेलबीच सम्झौताको साक्षीमा ढुंगेलसमेत बसेका थिए । तर, अहिले कोइराला परिवारले पोखरेललाई जग्गा दिन आनाकानी गर्दै आएका छन् । जग्गामा पोखरेलसँग बैना गरेका धिरज दाहालले कारोबारमा कोइराला परिवारले बेइमानी गरेको आरोप लगाए । पत्रकारसमेत रहेका दाहालले केशव कोइराला विराटनगर महानगरपालिकाका अहिलेको मेयर नागेश कोइरालाको काका भएकाले पनि बेइमानी भइरहेको गुनासो गरे । दाहालले कारोबारको विषयमा जिल्ला प्रशासन कायाृलयमा निवेदन दिएपछि जिल्ला प्रहरी कार्यालयमा लेखिपठाएको तर शक्तिकेन्द्रको डरले प्रहरीले चासो नदिएको बताए । दाहालले भने ‘प्रहरीले चाहेर पनि छलफल गराउन सकिरहेको छैन ।’

कोइराला परिवारसँग सम्झौता गरेपछि त्यहाँसम्मको पहुँच माग बनाउन दुई कठ्ठा जनग्गा दिएका विनायक पन्तलेसमेत उक्त जग्गाको भुक्तानी पाउन सकेका छैनन् । पन्तले आफ्नो जग्गा दिएर खुलेको बाटो सरकारी बनिसकेको छ । अब त्यसलाई हटाउनसमेत नमिल्ने अवस्था छ । त्यो बाटो खुलेर सरकारी भएका कारण कोइराला परिवारले बेइमानी गरेको पन्तको बुझाइ छ । ‘यी सामन्ती नै थिए, अहिले पनि सामन्ती नै हुन्’ पन्तले भने ।