धरान । जनता समाजवादी पार्टीका नेता तथा पूर्व शिक्षामन्त्री अशोक राईले सप्तकोशीको पानी धरान ल्याउन प्राविधिक अध्ययन सकिएको बताएका छन् । केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार धरानमा आइतबार आयोजित कार्यक्रममा नेता राईले प्राविधिक सर्वे सम्पन्न गरी योजनाको प्रस्ताव पेश गर्ने चरणमा प्रवेश गरेको जानकारी दिएका हुन् । उनले आगामी आर्थिक वर्षको बजेटमा उक्त आयोजना समावेश गर्ने विश्वास व्यक्त गरेका छन् ।
सप्तकोशी नदीबाट लिफ्टिङ गरेर पानी ल्याउने तयारी गरिरहेको नेता राईले बताए । ‘अहिलेको मुल्यसूचि अनुसार ५ अर्बको लगानीमा सप्तकोशीमा बोरिङ गरेर डाँडामा लिफ्टिङ गरेर ल्याउने कुरा छ । मेयरसाव्ले जग्गा पनि खोजीसक्नुभएको छ,’ मन्त्री राईले भने, ‘त्यो प्रोजेक्ट सुरुवात गरिने छ र निरन्तर काम भएमा तीन वर्षभित्र सम्पन्न हुनसक्छ ।’
कार्यक्रममा बोल्दै धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले विकासको आधार प्रकृति, सँस्कृति र प्रविधि भएको बताए । उनले कार्यक्रमस्थलमा आउदै गर्दा ढुंगे मेयर भनेको भन्दै ढुंगा बोकेर नै धरानले इज्जत कमाएको बताए । ‘प्रविधिले मात्र विकास हुदैन, प्रकृतिलाई विनास गर्ने हो भने र सँस्कृतिलाई बिर्सने हो भने विकास हुदैन,’ उनले भने, ‘यी तीन कुरालाई सँगै लिएर अघि बढ्नुपर्छ ।’
धरानमा नाष्टको प्रदेश कार्यालय स्थापना हुन लागेकोमा मेयर साम्पाङले मन्त्री राईलाई धन्यवाद पनि दिए । इञ्जिनियरीङ क्याम्पसमा आविष्कार केन्द्र स्थापना गर्न लागेको उनले बताए ।

