काठमाडौं । राष्ट्रिय सभा अध्यक्षका लागि नेकपा माओवादी केन्द्रले नारायण दाहाल उम्मेदवार बनाउने भएको छ भने प्रतिपक्षी नेपाली कांग्रेसले युवराज शर्मालाई अध्यक्षको उम्मेदवार बनाउने भएको छ ।
माओवादी पदाधिकारी बैठकले दाहाललाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।
राष्ट्रपतिबाट मनोनीत राष्ट्रिय सभा सदस्य नारायण दाहाल प्रधानमन्त्री पुष्पकमल दाहालका भाइसमेत हुन् । उनको कार्यकाल चार वर्षको रहेको छ । २०७८ मा दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनीत भएका थिए । सरकारको सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेकी थिइन् ।
नकपा माओवादी केन्द्र , नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र जसपा लगायतको सत्ता गठबन्धनमा राष्ट्रिय सभा अध्यक्षमा माओवादीले उम्मेदवारी दिने सहमति भएको थियो । उपाध्यक्षमा नेकपा एमालेको उम्मेदवार बन्ने सहमति छ ।
यसैबीच राष्ट्रिय सभा अध्यक्षमा कांग्रेसले युवराज शर्मालाई अघि सार्ने भएको छ । बाँकेका शर्मा लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएका हुन् ।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल सकिएसँगै उक्त पद रिक्त छ । राष्ट्रिय सभा अध्यक्ष चुनावका लागि भोलि मनोनयन दर्ता हुँदै छ । मतदान भने पर्सि हुदै छ ।