विराटनगर । सप्तकोशी नदीमा सशस्त्र प्रहरी बल वराह बाहिनीको विपद् उद्धार परीक्षण कार्यक्रमको समापनमा डुंगा दुर्घटना भइ घाइते भएका सञ्चारकर्मीको उपचार खर्च र क्षति भएको सञ्चार उपकरणको क्षतिपूर्ति दिनुपर्ने माग गरिएको छ ।
नेपाल पत्रकार महासङ्घ मोरङका कार्यवाहक अध्यक्ष मोहन भट्टराईले आइतबार प्रेस विज्ञप्ति जारी गरी घाइते भएका पत्रकारको उपचार गर्दा लागेको खर्च र हराएको, बिग्रेको सामानको मूल्य बराबरको क्षतिपूर्ति तत्काल उपलब्ध गराउन माग गरेका हुन् ।
सुनसरीको चतरास्थित सप्तकोशी नदीमा सशस्त्र प्रहरी बल वराह बाहिनीको विपद् उद्धार परीक्षण कार्यक्रमको समापनमा रिपोर्टिङको लागि प्रदेश सरकार र सशस्त्र प्रहरीको निम्तोमा पुगेका पत्रकारहरु सवार डुङ्गा गत कार्तिक १७ गते सप्तकोशीमा दुर्घटना भएको थियो । डुङ्गा दुर्घटनामा चार पत्रकारसहित ११ जनाको टोली डुबेको थियो ।
दुर्घटनामा कान्तिपुरकर्मी महाप्रसाद खतिवडा, देवनारायण साह र शम्भु पोखरेल रेडियो नेपालका कुमोद अधिकारी, जितेन्द्र ठाकुर, उदयपुरका स्थानीय सुशील सेढाई, अर्जुन दाहाल, टंक शर्मा, तेजप्रसाद तिम्सिना, गोमा सेढाई, विशाल दाहाल र अम्बिका निरौला घाइते भएका थिए । पानीमा डुबेर बेहोस भएका अधिकारी र खतिवडाको छातीमा समस्या देखिएपछि अस्पताल लगिएको थियो ।
दुर्घटनामा परी घाइते भएका विराटनगरस्थित रेडियो नेपालका पत्रकार कुमोद अधिकारीलाई ५ दिनसम्म धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसियुमा राखेर उपचार गर्नुपरेको थियो । यस्तै कान्तिपुरका पत्रकार महाप्रसाद खतिवडालाई पनि केही दिन उपचार गर्नुपरेको थियो । सप्तकोशीमा डुब्दा पत्रकारहरूको मोबाइल, नगद तथा क्यामेरा गरी झन्डै ५ लाखको सामान काम नलाग्ने भएको जारी विज्ञप्तिमा उल्लेख छ ।
सशस्त्र प्रहरी कोशी प्रदेशका प्रमुख डिआइजी अञ्जनी पोखरेलले प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले क्षतिपूर्ति दिने भनिए पनि हालसम्म सप्तकोशीमा डुबेर घाइते बनेका पत्रकारको उपचार खर्च दिन प्रदेश सरकार र सशस्त्र प्रहरीले आलटाल गरेको प्रति नेपाल पत्रकार महासङ्घ मोरङको गम्भीर ध्यानाकर्षण भएको जारी विज्ञप्तिमा उल्लेख छ । ‘पत्रकारलाई उपचार खर्च र हराएको, बिग्रेको सामानको मूल्य बराबरको क्षतिपूर्ति तत्काल उपलब्ध गराउन जोडदार माग गर्दछौँ, महासंघको कार्यवाहक अध्यक्ष भट्टराईले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।