टी–२० सिरिजमा नामिबियामाथि नेपालको रोमाञ्चक जित

विराटनगर । नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको टी–२० सिरिजमा नेपालले ३ रनको रोमाञ्चक जित हात पारेको छ । नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा ७ विकेटको क्षतिमा १७७ रन जोड्यो ।

त्यसअघि नेपालले पहिलो खेलमा नामिबिया र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग पराजय भोगेको थियो । अब शनिबार नेपालले नेदरल्यान्ड्ससँग खेल्नेछ ।

खेलमा दीपेन्द्रसिंह ऐरीले २ बलमा २ विकेट लिएपछि खेल रोमाञ्चक मोडमा पुगेको थियो । उनले १६औं ओभरको पहिलो र दोस्रो बलमा नामिबियाको चौथो र पाँचौ विकेट लिए । उनले जेजे स्मिथलाई ५० रनमा अनिल साहबाट र जान निकोललाई सन्दीप जोराबाट क्याच गराए ।

अर्को ओभर पहिलो बलमा अभिनास बोहराले जान फ्राइलिंकलाई ३७ रनमा बोल्ड गरेपछि नेपाल खेलमा फर्कियो । त्यसअघि १५औं ओभरमा करण केसीले २३ रन खर्चिदा नेपालमाथि दबाब परेको थियो । तर, दिपेन्द्र र अभिनासले उत्कृष्ट बलिङ गर्दै नेपालमाथिको दबाब कम गरे ।

१८औं ओभरमा दीपेन्द्रले १८ रन खर्चिदा फेरि नेपालमाथि दबाब बढ्यो । दीपेन्द्रलाई जान ग्रिनले दुई चौका र रुबेन ट्रम्पलम्यानले एक छक्का प्रहार गरे । १९औं ओभरमा अभिनास बोहरालाई ट्रम्पलम्यान र ग्रिन मिलेर ११ रन प्रहार गरे । यो ओभरमा ग्रिनले दुई चौका हिर्काए ।

अन्तिम ओभरमा ४ विकेट बचेको नामिबियालाई १२ रन चाहिएको थियो । नेपालका लागि करण केसीले अन्तिम ओभर बलिङ गर्दा पहिलो बलमा एक रन दिए । दोस्रो बलमा पनि एक रन नै भयो । तेस्रो बल डट भएकोमा अर्को बल भने वाइड भयो । चौथो बलमा उनले एक रन दिए । पाँचौ बलमा करणले ट्रम्पलम्यानलाई सन्दीप जोराबाट क्याच गराए ।

त्यसपछि अन्तिम बलमा नामिबियालाई ८ रन चाहिएको थियो भने नेपाल जित नजिक पुगेको थियो । जसमा करणले अन्तिम बलमा चौका दिए । त्यसअघि नामिबियाका ओपनरद्वय माइकल भान १० रन र मालन क्रुगर ३ रनमा आउट भए । मालनलाई सोमपाल कामीले दोस्रो ‌ओभरमा र भानलाई करण केसीले छैटौं ‌‌ओभरमा आउट गरे ।

त्यसअघि आठौं ओभरमा जेपी कोट्जे २५ रनमा विकेटकिपर आसिफ शेखबाट समातिएका थिए ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको नामिबियाले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा १८० जोडेको थियो । नेपालका लागि कुशल मल्लले अर्धशतक प्रहार गरे । उनले नटआउट ५५ रन जोड्ने क्रममा ३७ बलमा १ चौका र ४ छक्का प्रहार गरेका थिए ।

कुशल र आरिफ शेखबीच पाँचौ विकेटका लागि भएको ८५ रनको साझेदारी नेपालका लागि महत्वपूर्ण सावित भयो । आरिफले आउट हुनुअघि २४ बलमा ३१ रनको योगदान गरेका थिए ।

आरिफ आउट भएपछि ब्याटिङमा आएका दीपेन्द्रसिंह ऐरीले ८ बलमा १६ रन जोडे । नेपालले पछिल्लो दुई ओभरमा ३ विकेट गुमाउँदा १५ रन जोड्न सक्यो । १९औं ओभरको अन्तिम बलमा आउट भएका करण केसीले ३ बलमा १ छक्का प्रहार गर्दै ७ रन जोडे । अन्तिम दुई बल बाँकी छदा ट्रम्पलम्यानको बलमा आउट भएका सोमपाल कामीले २ रन मात्र बनाए ।

शुक्रबार, १८ फागुन, २०८०, दिउँसोको ०३:१६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर