विश्वकप क्रिकेटको लिग २ मा नेदरल्यान्ड्सविरुद्ध नेपालले दियो १७३ रनको लक्ष्य

विराटनगर । नेपालले क्रिकेट विश्वकप लिग २ मा नेदरल्यान्ड्सलाई १७३ रनको चुनौती दिएको छ । आइतबार भएको खेलमा नेदरल्यान्ड्सका कप्तान स्कट इडवार्डसले टस जितेपछि ब्याटिङको निम्तो पाएको नेपाल ४९.३ ओभरमा अलआउट भयो ।

नेपालले यस श्रृंखलामा तेस्रो पटक टस हारेको हो र सो क्रममा पहिला ब्याटिङ गर्दा बनाएको यो उच्च स्कोर हो । यसअघि नामिबियाविरुद्धको पहिलो दुई खेलमा नेपाल क्रमशः १३२ र १६८ रनमा अलआउट भएको थियो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलको पहिलो ८ ओभरमा बिनाक्षति ४१ रन बनाएको नेपालले ३० ओभर पुग्दा ९६–६ को स्थितिमा पुगेको थियो । आसिफ शेख आउट हुने पहिलो खेलाडी थिए । उनले २७ बल खेली २ चौका प्रहार गर्दै १७ रन बनाए । एक छक्का प्रहार गरेका अनिल शाह ११ बल खेली ७ रनमा र कुशल मल्ल २ रनमा आउट भएपछि नेपाल दबाबमा आएको थियो ।

कप्तान रोहित पौडेलले ओपनर कुशल भुर्तेललाई केही राम्रो साथ दिन खोजे पनि गलत सट खेलेर आउट भए । रोहितले ४० बल खेली २ चौकासहित १६ रन बनाए भने दीपेन्द्रसिंह ऐरी १ रनमा रनआउट भए । भीम सार्कीलाई बास डी लिडले शून्यमा बोल्ड गरे ।

कुशल भुर्तेलले ९३ बल खेली ८ चौका प्रहार गर्दै ६६ रन बनाए । गुलशन झा १७ बल खेली ५ रनमा आउट भए ।

श्रृंखलामा पहिलो खेल खेलिरहेका आरिफ शेखले २२ रन बनाए । उनले ५० बल खेली १ चौका प्रहार गरे । आठौं ब्याटरका रूपमा आएका उनी ४९ औं ओभरमा आउट भएका थिए । करण केसी २७ बल खेली २६ रनमा आउट भए । उनले ४८औं ओभरमा लगातार २ छक्का प्रहार गरेका थिए ।

नेदरल्याण्डको तर्फबाट आर्यन दत्तले ३ विकेट लिए । उनले १० ओभरमा २ मेडन राख्दै १६ रन खर्चेका थिए । नेपालले नेदरल्यान्ड्ससँगको अघिल्लो खेलमा दत्तलाई ३ ओभरमा ४४ रन प्रहार गरेको थियो । रोइल्फ भान डेर मर्वीले १० ओभरमा १ मेडन राख्दै २३ रनमात्र खर्चेर १ विकेट लिए । किङ्माले १० ओभरमा ३९ रन खर्चेर ३ विकेट लिए ।

नेपालले नामिबियाविरुद्धको अघिल्लो खेलबाट दुई खेलाडी परिवर्तन गर्दै आरिफ शेख र गुलशन झालाई देव खनाल र सोमपाल कामीको स्थानमा खेलाएको छ । नेदरल्यान्ड्सले सारिज अहमदको स्थानमा विक्रमजित सिंहलाई खेलाएको छ ।

यो शृंखलाको अन्तिम खेल हो । नेपाल र नेदरल्यान्ड्सले पहिलो ३ खेलमा २ मा पराजय बेहोरिसकेका छन् । नेपाल र नेदरल्यान्ड्सले जसले जिते पनि शृंखलामा दोस्रो विजय हात पार्नेछन् । नामिबियाले शृंखलाको ४ मध्येको तीन खेल जितेको थियो ।

आइतबार, १३ फागुन, २०८०, दिउँसोको ०१:३५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर