विराट गोल्डकप चैतमा हुने, पुरस्कारको राशी घटाइयो

विराटनगर । कोशी प्रदेशकै ठूलो फुटबल प्रतियोगिता विराट गोल्डकपको आठौं संस्करण चैत १५ देखि २४ गतेसम्म सञ्चालन हुने भएको छ ।

आयोजक विराट गोल्डकप ट्रष्टका अध्यक्ष किशोर शाहीका अनुसार १० टोली सहभागी गराउनेगरि प्रतियोगिताको तयारी भएको छ । सहभागी हुने टिमको छनौट भने भइसकेको छैन ।

प्रतियोगिताको लागि मैदान व्यवस्थापनदेखि सहभागी क्लबहरुसँग समन्वय गर्नेलगायतको काम भइरहेको शाहीले जानकारी दिएका छन् । सहिद रंगशाला विराटनगरमा यो पटक पनि प्रतियोगिता रात्रिकालीन हुनेछ ।

प्रतियोगिताको पुरस्कार राशी भने झन्डै आधा घटाइएको छ । प्रतियोगिताको विजेताले गत वर्ष २० लाख ५१ हजार र उपविजेताले १० लाख ५१ हजार रुपैयाँ पुरस्कार पाएकोमा यो वर्ष विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । गत वर्ष गोल्डकप आयोजना गर्दा धेरै घाटा लागेका कारण यो वर्ष पुरस्कारको राशी घटाउन बाध्य भएको अध्यक्ष शाहीले बताए ।

यो पटक ट्रष्ट आफैंले प्रतियोगिता आयोजना गर्ने भएको छ । यसअघि ट्रष्टले प्रतियोगिता आयोजनाको जिम्मा अर्कै समितिलाई दिने गरेको थियो । गत वर्षको प्रतियोगिताको संयोजक विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला आफैं थिए ।

आर्थिक मन्दी र गत वर्ष घाटा भएका कारण यो वर्ष पुरस्कारको राशि घटाइएको आयोजकले जनाएको छ । २०१८ सालदेखि तत्कालीन राजा महेन्द्रको नामबाट सुरु गरिएको गोल्डकप २०६२–०६३ सालको जनआन्दोलनपछि नाम परिवर्तन गरेर २०६८ सालबाट विराट गोल्डकपको नामबाट सञ्चालन हुँदै आएको छ ।

गत वर्ष विराटनगर फुटबल क्लब प्रतियोगिताको बिजेता बनेको थियो भने भारत केरलाको लुका सकर क्लब उपबिजेता बनेको थियो ।

बिहिबार, १० फागुन, २०८०, साँझको ०५:५९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर